पाल्पा, आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सि·ारिएको हुन्छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।