Shittalpati
स्थानीय तह उपनिर्वाचन   :  ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित

पाल्पा, आगामी १६ मंसिरमा विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको छ । ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मनोनयन दर्ताका लागि ११ दिन मात्र बाँकी छ । मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । २ गते बिहान १० देखि अपरान ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ । ३ गते बिहान १० देखि अपरान ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराÞन ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ गते बिहान ९ देखि अपरान १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन प्रदान गरिने छ ।

मंसिर १६ गते बिहान ७ देखि अपरान ५ बजेसम्म मतदान हुनेछ । मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा प्रमुख दलहरू उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । काँग्रेसले उपनिर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रबाटै परिचालित गरेर परिणाम ल्याउने रणनीतिअनुसार तयारी अगाडि बढाइएको छ । यसका लागि केन्द्रमा निर्वाचन परिचालनका लागि विशेष समिति र तल्लो तहबाट योग्य उम्मेदवार छनोट गरी सिफारिसको तयारी गरिरहेको छ । एमालेले पनि आफूले जितेका सातवटै वडा सुरक्षित गर्दै बहुसंख्यक स्थानमा जित्ने गरी केन्द्रीयस्तरबाट नीति र योजना बनाएको छ । उसले बहुसंख्यक स्थानमा चुनाव जित्ने रणनीतिसहित सबैजसो स्थानमा चुनाव हुने स्थानीय तहको कमिटीबाटै सर्वसम्मत उम्मेदवार छनोट गरेर चुनावी प्रचार बढाउने नीति अख्तियार गरेको छ । कतै पनि सहकार्य वा गठबन्धन नगर्ने उसको नीति छ । माओवादीले उम्मेदवार छान्ने जिम्मा स्थानीय कमिटीलाई दिएको छ । वडा तहसम्मको निर्णय गर्ने जिम्मा पालिकालाई दिएको छ भने पालिकास्तरको उम्मेदवार पालिका हुँदै जिल्लामार्फत प्रदेश कमिटीले टुंग्याउने तयारी छ । यस्तै संसद्को चौथो दल रास्वपाले उपनिर्वाचन हुन लागेकामध्ये केही मुख्य स्थानहरूमा मात्र उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचन हुने स्थानमा केन्द्रको परामर्शमा केही दिनभित्रै उम्मेदवारहरूको नाम टुंगो लाग्ने जनाएको छ । कहाँ हुँदैछ निर्वाचन ? निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंखर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । यस्तै गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगले जनाएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update