Shittalpati
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो

पाल्पा, बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला ४ हजारले घटेको हो ।

सुन घटेसँगै प्रतितोला १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९ सय ६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २ हजार ७ सय ४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २ हजार ६ सय ५७ सम्म झरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ । मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबका दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update