Shittalpati
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

पाल्पा, नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय ३५ दशमलव १६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय ३४ दशमलव ८८ रुपैयाँ थियो । मंगलबार यस्तो दर १ सय ३४ दशमलव ८९ रुपैयाँ पुगेको थियो । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भोलिपल्ट डलरको मूल्य वृद्धि भएको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रूपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । निर्वाचनको नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ ।

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । जसले गर्दा अमेरिकी डलरको भाउ बढ्ने भएकाले विश्व बजारमा सुनको मूल्य घट्ने सम्भावना रहेको बताइएको छ । मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबमा दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update