पाल्पा, पाल्पामा भोलि शुक्रबारदेखि हुने ‘हेरिटेज राइड–२०८१’ को तयारी पुरा भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा हुन लागेको दुई दिने सम्पदा यात्राको सम्पूर्ण तयारी पुरा भएको हो ।
‘हेरिटेज राइडका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संघले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले शुक्रबार र शनिबार सञ्चालन गर्न लागिएको सम्पदा यात्राको तयारी सकिएको संघका अध्यक्ष रुपेश महर्जनले जानकारी गराए । उनले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाले प्रचार–प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । अध्यक्ष महर्जनका अनुसार पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ । साइकल यात्रामा काठमाडौं, भक्तपुर, नेपालगञ्ज, कपिलवस्तु, बुटवल लगायतका ठाउँहरुबाट १ सय ५० साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताए । उनले भने ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गरेका थियौं, विहीबार विहानसम्म १ सय २० जना जतिले दर्ता गराउनु भएको छ ,अरुहरुले पनि सम्पर्क गरिरहनु भएको छ, शुक्रबारसम्म हाम्रो लक्ष्य पुरा हुने विश्वास छ ।’
कार्यक्रममा संघका सल्लाहकार तथा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले पश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि साइकल यात्रा हुन लागेको बताए । उनले भने ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र नभई यहाँको पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत पुग्दछ भन्ने मैले विश्वास लिएको छु ।’ उनका अनुसार सुरक्षाका साथ साइकल यात्रा हुने छ । यात्रामा सहभागीहरुको सुरक्षाका लागि चार लाख सम्मको बीमा समेत संघले गरिदिएको सल्लाहकार महर्जनले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पर्यटनको विकासमा युवाहरुले देखाएको सक्रियता प्रसंशनिय रहेको बताए । उनले हेरिटेज राइडलाई सफल पार्न पाल्पाली पत्रकारहरुको पूर्ण सहयोग रहने उल्लेख गरे । साइकल यात्रामा सहभागी हुनेहरुलाई विहान साढे ६ बजे टुँडीखेलबाट टक्सारटोलको धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पुर्याइने छ । यात्राको लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकास मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गर्ने संघले जनाएको छ । यात्रा दरबार परिसरबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा उनीहरुलाई जानकारी गराईने छ । संघका अध्यक्ष रुपेश महर्जनको अध्यक्षता, सचिव विज्ञान बज्रचार्यको स्वागत, उपाध्यक्ष अमन शाक्यको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।