विश्व रेडियोग्राफी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । यो दिवस हरेक वर्षको नोभेम्वर ८ मा मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।
विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ । एक्सरेले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ । अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा बिना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन यसको अत्यन्त ठूलो महत्व रहेको छ । रेडियोथेरापी, सिटी स्क्यान, न्युक्लियर मेडिसिनद्वारा क्यान्सरसँगै विभिन्न रोगकोे उपचारसमेत सम्भव छ । तर यसको दुरुपयोग भयो भने यसले ठूलो असर समेत निम्त्याउन सक्छ । यसको ज्ञान नहुँदा पनि कतिपयले यसको दुरुपयोग गरेको पाइन्छ । कतिपय अवस्थामा एक्सरेमा काम गर्ने व्यक्ति र बिरामीमा नकारात्मक असर पुग्छ । खासगरी, बच्चा, बुढाबुढीमा एनडिपी अर्थात् शरीरले पचाउन सक्ने रेडिएसनको मात्रा कम हुन्छ । त्यसैले, असर देखिन सक्छ । यसबाहेक, गर्भवतीलाई पनि रेडिएसनले चाँडो प्रभाव पार्ने भएकाले गर्भावस्थामा सकेसम्म एक्सरेको प्रयोग गर्न हुँदैन । तर, गर्भवतीको अवस्था हेरेर र आवश्यकता अध्ययन गरेर मात्रै यसको प्रयोग गर्नु राम्रो हो ।
रेडियोग्राफीको माध्यमबाट सही काम गर्नेतर्फ हामी लाग्नुपर्छ होइन भने त्यसैले भोलिको दिनमा अपराध पनि नबढाउला भन्न सकिदैन । यसर्थ यसको प्रयोगका बारेमा सबै सचेत हुन आवश्यक छ । यसो भयो भने मात्र हरेक वर्ष मनाइने विश्व रेडियोग्राफी दिवसको सार्थकता रहन सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्छ ।