Shittalpati
पाल्पाका युवाहरुको सक्रियता
‘हेरिटेज राइड’को तयारीको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

पाल्पा, पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।

जिल्लाको विकास र जनचासोका विषयमा एकै दिन हुन लागेका कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । यहाँका युवाहरुले जिल्लाको विकास र समृद्धिलाई ध्यानमा राखी आयोजना गर्न लागेका कार्यक्रमप्रति जिल्लाका सरोकारवालाहरुले समेत चासो दिएका छन् । पाल्पा जेसिजमा आवद्ध युवाहरुले स्थानीय सरकार र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस आयोजना गरेका छन्  भने पाल्पा साइक्लिङ संघमा आवद्ध युवाहरुले दुई दिने ‘हेरिटेज राइड’ आयोजना गर्दै छन् । जेसिजले स्थानीय सरकारसँग सवाल, नीति निर्माणका लागि आधार तयार गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक खुला बहस कार्यक्रम गर्न लागेको हो । आज दिउँसो साढे १ बजे पाल्पा दरबार संग्राहालय परिसरमा आयोजना गर्न लागिएको खुला बहसको सम्पूर्ण तयारी पुरा भएको जेसिजका जिल्ला अध्यक्ष जेसी अर्जुन कार्कीले बताए । स्थानीय तह र युवाबिच विकासका गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउन, युवा र जनप्रतिनिधिबिच दुरी कम गराउन जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम सञ्चालनको वातावरण निर्माण गराउन बहस सञ्चालन गर्न लागिएको उनको भनाई छ ।

बहस कार्यक्रममा पाल्पा क्षेत्र नं. २ मा रहेका पालिका प्रमुखहरु सहभागी हुने छन् ।  जसले युवाहरुको प्रश्नको जवाफ दिने अध्यक्ष कार्कीले बताए । बहस कार्यक्रममा वार्षिक युवा लक्षित कार्यक्रमको अवस्था, त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेशबाट फर्किएका युवाहरुको व्यवस्थापन, विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले गरेका काम र भावि योजना र पालिका प्रमुखहरुको प्रतिवद्धता समेत लिइने छ । यस्तै साइक्लिङ संघमा आवद्ध युवाहरुले जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले शुक्रबार र शनिबार सम्पदा यात्रा (‘हेरिटेज राइड–२०८१’) सञ्चालन गर्न लागेका छन् । उनीहरुले साइकल यात्रामार्फत बाहिरबाट आउनेहरुलाई जिल्लाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने छन् ।

आजदेखि हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । उसले विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो । संघका अध्यक्ष रुपेश महर्जनले स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताए । उनले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाले प्रचार–प्रसारमा सहयोग गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । उनका अनुसार पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने छ । साइकल यात्रामा काठमाडौं, भक्तपुर, नेपालगञ्ज, कपिलवस्तु, बुटवल लगायतका ठाउँहरुबाट १ सय ५० साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताए ।

उनले भने ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गरेका थियौं, विहीबार विहानसम्म १ सय २० जना जतिले दर्ता गराउनु भएको छ, अरुहरुले पनि सम्पर्क गरिरहनु भएको छ, शुक्रबारसम्म हाम्रो लक्ष्य पुरा हुने विश्वास छ ।’ कार्यक्रममा संघका सल्लाहकार तथा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले पश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि साइकल यात्रा हुन लागेको बताए । उनले भने ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र नभई यहाँको पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत पुग्दछ भन्ने मैले विश्वास लिएको छु ।’ उनका अनुसार सुरक्षाका साथ साइकल यात्रा हुने छ । यात्रामा सहभागीहरुको सुरक्षाका लागि चार लाख सम्मको बीमा समेत संघले गरिदिएको सल्लाहकार महर्जनले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पर्यटनको विकासमा युवाहरुले देखाएको सक्रियता प्रसंशनिय रहेको बताए । उनले  हेरिटेज राइडलाई सफल पार्न पाल्पाली पत्रकारहरुको पूर्ण सहयोग रहने उल्लेख गरे । साइकल यात्रामा सहभागी हुनेहरुलाई विहान साढे ६ बजे टुँडीखेलबाट टम्सारटोलको धिमे बाजासहित पाल्पा दरबार संग्राहालय परिसरमा पुर्‍याइने छ । यात्राको लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकास मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गर्ने सघले जनाएको छ । यात्रा दरबार परिसरबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा उनीहरुलाई जानकारी गराईने छ । संघका अध्यक्ष रुपेश महर्जनको अध्यक्षता, सचिव विज्ञान बज्रचार्यको स्वागत, उपाध्यक्ष अमन शाक्यको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update