सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धान भइरहेको छ । तर उनका समर्थ र कार्यकर्ताहरु भने न्यायलयलाई नै प्रभावित पार्ने गरी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
न्याय भिडले होइन, अदालतले दिन्छ । तर भिड जम्मा गर्दैमा न्याय मिल्दैन भन्ने कुरा लामिछानेका कार्यकर्ताले बुझ्न नसक्नु दुखद् हो । सहकारी पीडितहरूको पूरक जाहेरीका आधारमा पक्राउ परेका उनलाई अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो । अनुसन्धान सकिएपछि अदालतमा मुद्दा चल्नु स्वाभाविक प्रक्रिया हो । रवि दोषी हुन् वा निर्दोष ? यसको निरूपण अदालतले गर्छ । त्यसैले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न र अदालतलाई मुद्दा प्रक्रियामा सघाउनु वादी र प्रतिवादी दुवैको कर्तव्य हो । रविका समर्थकहरू भने अनुसन्धान र अदालती प्रक्रियामा सघाउनुको सट्टा भिडबाट न्याय प्रभावित पार्न उद्यत हुनुलाई राम्रो मान्न सकिदैन । लामिछानेलाई अनुसन्धानका लागि पोखरा पु¥याएदेखि नै रास्वपाका कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
यो कदमले जान्नेलाई छान्ने र पुराना मान्छे र पुरानो तरिकाले हुँदैन भनेर रातदिन फलाक्नेहरू उही पुरानै दलको मार्गमा हिडेको प्रष्ट हुन्छ । अदालतको आदेशबाट भएका कामकुरालाई सरकारको प्रतिशोध भनेर सडकमा उत्रिनु किमार्थ राम्रो होइन । यस्ता गतिविधि रास्वपा वा अन्य राजनीतिक दलहरुले पनि गर्नु हुँदैन । गल्ती गरेको जोकोही होस्, त्यो बच्नुहुँदैन, बचाउनुहुँदैन भन्ने आफ्नै सभापतिको भनाइविरुद्ध उनको दल यो अनुसन्धानलाई पूर्वाग्रह भनेर नयाँ भाष्य खडा गरी निरन्तर गरिएको आन्दोलन कुनै पनि हालतमा जायज छैन । बरु रास्वपाले आफ्नो सभापतिको लागि न्यायलयलाई अनुसन्धानमा सघाउनुपथ्यो । त्यसो नगरी भिड जम्मा गरेर आन्दोलन गर्नु न्यायलयलाई नै प्रभावित पार्न खोज्नु हो । यस्तो आन्दोलनले यो दल देशको प्रचलित काननुभन्दा आफूलाई धेरैमाथि राख्न खोजेजस्तो देखाएको छ । यद्यपी कानुन भन्दा माथि कोही पनि छैन । यो कुरालाई बुझेर रास्वपाले निर्वाध रुपमा अनुसन्धान गर्न दिनु नै उत्तम हुन्छ ।