Shittalpati
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

घोराही (दाङ), देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।

घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन् । बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए । भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ ।

गत वर्ष भैलोबाट सङ्कलन गरिएको एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो । क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनको उपचारमा ४३ लाख लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update