तुलसीपुर, दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
राप्ती–५ स्थित करङ्गेकोटकी अनिष्मा ओलीले बनाएका ती सामग्री प्रयोगमा ल्याएको अध्यक्ष विष्टले बताए । “स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने हाम्रो उद्देश्य हो, विगतदेखि नै त्यसरी नै काम गर्दै आएका छौँ”, उनले भने, “अहिले हामीले बाँसबाट बनेका कुर्सीलाई कार्यालयमा प्रयोगमा ल्याएका छौँ ।”
राप्ती गाउँपालिकाले उद्यमशीलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलालाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि ओलीले यसरी बाँसका फर्निचर बनाउन सुरु गरेका हुन् । उनीसहित १५ जना युवा तथा महिलाले सामूहिक रुपमा व्यावसायिक बाँसको सामग्री उत्पादनको तयारी गरेका छन् । त्यसका लागि उनीहरुले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारीसमेत थालेका छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामग्री बनाएर आम्दानी गर्न सकिने उनीहरुको विश्वास छ । उनीहरुले मुढा, कुर्सी, टेबललगायत फर्निचरका सामग्री निर्माण तालिम लिएका छन् । स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने भन्दै यस्तो कार्यलाई आफूहरुले प्रोत्साहन गरेको अध्यक्ष विष्टले बताए । सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोगबाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवनस्तर बदलिने विश्वास व्यक्त गरे ।