Shittalpati
विश्व विज्ञान दिवसको सन्देश

हरेक वर्षको नोभेम्बर १० तारिखमा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन शुरु गरिएको थियो । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो ।

शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता निर्माण गर्नु दिवसको मुख्य उद्देश्य हो । हरेक दिवसको आ–आफ्नै उद्देश्य र महत्व रहेको हुन्छ । उनीहरुले दिने सन्देश हरेक दृष्टिकोणले सकारात्मक नै हुन्छ । विश्व विज्ञान दिवसको पनि आ–आफ्नै सन्देश, महत्व र उद्देश्य रहेको छ । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रको समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो ।

यही आवश्यकतालाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ । तर पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकको राजनीतिक भविष्य अन्यौलमा परेको छ । जसले विज्ञानको सहि प्रयोग र उपयोग गर्न सकेको छ त्यस्ता मुलुकको विकासले ठूलो फड्को मारेको छ । तसर्थ विज्ञानको सही ढंगले उपयोग गर्न सकियो भने समाज र राष्ट्रको विकास र सम्वृद्धि सम्भव छ भन्ने कुराको सन्देश यो दिवसले दिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update