पाल्पा, पाल्पाका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको साइकलबाट अवलोकन गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा भएको दुई दिने हेरिटेज राइडमार्फत यहाँका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको हो ।
पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्तिक २३ र २४ गते सम्पदा साइकल यात्रा गरिएको थियो । हेरिटेज राइड तानसेनको टुँडिखेलबाट सुरु भएर भगवती मन्दिर दर्शन गरी साइकल यात्राको प्रारम्भ भएको थियो । तानसेनमा वडा ३ कार्यालय, असनटोल टोल विकास संस्थालगायत टक्सारको धिमेबाजाले बिदाइ गरेका थिए । तानसेनबाट सुरु भएको यात्रा भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा पुगेको थियो । साइकल यात्रीहरुलाई ठाउँ ठाउँमा विभिन्न सांस्कृतिक झलकसहित स्वागत तथा बिदाइ गरिएको थियो । साइकल यात्री रिडी रुरु क्षेत्रबाट फर्केर अर्गली, अर्तुङ्गा, छेर्लुङ्ग, रानीमहल हुँदै पुनः तानसेन फर्किएका थिए । यात्रा सहज र उत्साजनक रुपमा सम्पन्न भएको आयोजक पाल्पा साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जनले बताए । उनले भने ‘ ठाउँ–ठाउँमा स्थानीय सरकार, क्लव, समूूह, टोलविकास संस्थाहरुले बाजागाजासहित सम्मान र स्वागत गरेका थिए, त्यसले पनि साइकल यात्रीहरुलाई थप उत्साहज जगायो ।’ सम्पदा साइकल यात्राले पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने संघका सल्लाहकार तथा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए । उनले भने ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र नभई यहाँका पर्यकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने छ ।’
साइकल यात्रामा काठमाडौं, भक्तपुर, नेपालगञ्ज, कपिलवस्तु, बुटवल लगायतका ठाउँहरुबाट १ सय २५ भन्दा बढीको सहभागिता रहेको संघका उपाध्यक्ष अमन शाक्यले बताए । पाल्पा दरबार संग्रहालयबाट सुरु भएको साइकल यात्रीको टोलीलाई लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकासमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिदाइ गरेका थिए भने लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले साइकल यात्राको समापन गरेका हुन् । साइकल यात्रामा सहभागीहरुलाई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगी त्यहाँको बारेमा जानकारी गराइएको थियो ।