पोखरा, रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतले आइतबार थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो । यसअघिको १० दिने म्याद सकिएपछि प्रहरीले आइतबार उनलाई अदालत पेस गरेको थियो । सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि यसपटक थप १३ दिन म्याद थप गरिएको हो । उनलाई अदालत पेस गर्न लैजाँदा रास्वपा कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेका थिए । जिल्ला अदालतले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १३ दिनको अनुमति दिएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत चारै जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको हो । सहकारीसम्बन्धी संसदीय विशेष समितिले चारै जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिस र कास्की अदालतको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।