नेपालमा अहिलेको सिजन भनेको पर्यटन आगमन हो । बाह्य पर्यटकहरूको आगमनको मुख्य सिजन भनेको सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । अहिले पर्यटकहरुको आगमनको समय भए पनि अपेक्षित रुपमा आएको पाइँदैन । नेपाल आउने अधिकांस बाह्य पर्यटकहरुले हवाई सेवा प्रयोग गर्ने गर्छन् । उनीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब–करिब निर्बिकल्प जस्तै छ । तर यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच महिना राति १० देखि बिहान ८ बजेसम्म व्यावसायिक उडान कटौती गरेको छ । विमानस्थलको स्तरोन्नती र मर्मत गर्ने भन्दै सो समयका लागि उडान रोकिएको हो । यात्रुलाई प्रभावकारी सेवा दिन पूर्वाधार विस्तार र स्तरोन्नतिको काम आवश्यक छ । यसमा कुनै दुई मत छैन । तर त्यसका लागि विमानस्थलले जुन समय छनोट गर्यो, त्यो भने अस्वाभाविक छ । उडान कटौतीका कारण यात्रुहरूले सास्ती मात्र होइन भाडादरमा महँगी समेत बेहोर्नु परेको छ । नेपाल आउने पर्यटकहरु समेत आउन सकिरहेका छैनन् । यो नेपालका लागि दुर्भाग्यको कुरा हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुमात्र होइन, यातायातको सुविधा नभएका ठाउँमा उपभोग्य वस्तुको ढुवानी गर्नु हवाई सेवाको कर्तव्य हो । हाम्रोजस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो । तर नेपालमा यसलाई व्यवस्थित गर्न सकिएको छैन । जसका कारण पर्यटन क्षेत्रले अझै फड्को मार्न सकिरहेको छैन । एकातिर नीति निर्माणतहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । अहिलेको अवस्थामा त्रिभुवन विमानस्थलको कामलाई एक महिनापछि धकेल्दा राम्रो हुन्थ्यो । अर्कोतर्फ भाडादरलाई न्यायोचित र स्वाभाविक बनाउने मध्यमार्गी बाटो अपनाउन सके पर्यटन आगमनलाई वृद्धि गर्न सकिन्थ्यो । त्यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।