Shittalpati
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै

बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली  (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।

आइतबार कास्कीमै थप १३ दिन हिरासतमा राख्ने आदेश भएसँगै यही बिचको अवधिमा उनलाई यता ल्याउन लागिएको बुझिएको छ । पोखरामा सूर्यदर्शन सहकारी र भैरहवामा सुप्रिम सहकारीको रकम अपचलनमा उनको संलग्नता भएको आरोपसहित बयान र अनुसन्धान थालिएको हो । उनी कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । रूपन्देही प्रहरीले यस अघि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशी बञ्जाडेसँग भैरहवामै बयान लिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की अदालतबाट पुर्पक्षका लागि कास्कीमै थुनामा रहेका सुप्रिमको रकम अपचलनमा संलग्न कुमार रम्तेल र शिवबहादुर गुरुङलाई रूपन्देही प्रहरीले भैरहवा ल्याएर शुक्रबारदेखि सरकारी वकिलसमक्ष बयान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update