यतिबेला चिसो बढ्दो छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ ।
निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)का कारणले हुने गर्छ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ । निमोनिया लगाउने किटाणुहरु संक्रमण गराउने खालका हुन्छन् । यस अर्थमा निमोनिया पनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ । नेपालमा जाडो सुरु भएपछि पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको संक्रमण बर्सेनि अलि बढी हुने गरेको छ । निमोनियाबाट बचाउनका लागि बालबालिका खोप लगाउनुपर्छ, पोषणयुक्त खुराक पर्याप्त दिनुपर्छ र चिसोमा निक्लिन दिनु हुन्न । संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनैसुकै ठाउँमा जन्म किन नलियोस, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नैपर्छ । यही कुरालाई मध्यनजर गरेर सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिख अर्थात् आजको दिन संसारभरी विश्व निमोनिया दिवस मनाइने गरिन्छ । यस दिवसलाई मनाइनुको मुख्य उद्देश्य भनेको ५ बर्ष भन्दा कम उमेरका बच्चाहरु अकाल मृत्युको मुख्य कारक बनेको यस रोगको बारेमा जनसमुदायमा जागरूकता फैलाउनु हो । त्यसबाहेक ,निमोनियाको उपचारको लागि सुरक्षाको लागि हस्तक्षेपहरू बढाउनु र अतिरिक्त स्रोत र ध्यानको आवश्यकतामा समाधानहरू हटाउनुमा पनि आजको दिनलाई लक्षित गरिएको छ । यो आफैमा सकारात्मक छ । तर रोग लाग्न भन्दा लाग्नै नदिने उपाय खोज्नु उत्तिकै राम्रो मानिन्छ । यसर्थ बालबालिकालाई निमोनिया नहोस् भन्नका लागि चिसोबाट जोगाउन जरुरी छ ।