Shittalpati
पाल्पा जेसीज र ‘युवाको प्रश्न नेतृत्वसँग’ को बहस

अर्जुन कार्की
अध्यक्ष, जेसीज पाल्पा

‘शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्र्दै १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व, नेतृत्व र उद्यमशीलता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था जेसीज हो । नेपाल जेसीजको क्रियाशील शाखाको रुपमा सन् १९८० मा पाल्पाका बौद्धिक व्यक्तित्व संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्य र संस्थापक महासचिव जेसी बुद्धि प्रसाद शर्माको नेतृत्वमा पाल्पा जेसीजको स्थापना भएको हो । जेसीजले व्यक्तित्व, ब्यवसायिक, सामाजिक र अन्तर्राष्ट्रिय विकास गर्नमा सघाउने जेसिजको मुख्य उद्देश्य हो । विधिको शासन, मानवताको सेवा, विश्वबन्धुत्वको भावनालाई आत्मसात गर्दै समाजमा रहेका युवाहरुलाई संगठित गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाको रुपमा जेसीज परिचित छ । यो प्रत्यक्ष रुपमा सामाजिक विकासप्रति समर्पित संस्था होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति  (मानिस) हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीजले आफ्ना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको  व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढी जोड दिएको छ । किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ । आज सम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सबै मानिसकै देन हुन । यस पृथ्वीको सबै भन्दा उत्कृष्ट प्राणी भनौ वा सबै भन्दा बहुमुल्य सम्पत्ति भनौ त्यो कुनै हो भने केवल मानिस हो । अरु कोही हैन । यस प्रकार जेसीजले समाजको  निमित्त सक्षम एवं असल व्यक्तित्वको निमार्ण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ । साधन श्रोतको क्षेत्रमा जति सुकै सम्मृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम व्यक्तित्वको नेतृत्व भएन भने परीक्षामा नकारात्मक नतिजा आउँछ । यद्यपी जेसीज पाल्पाले यी कुराहरुलाई  मात्र आत्मसाथ नगरी समाजको वर्तमान अवस्थालाई हेरेर विपन्न, असहायहरुका लागि शिक्षा, स्वास्थ्यमा सहयोग, संस्कृतिको संरक्षण, नागरिक र उनीहरुले चुनेर पठाएका जनप्रतिनिधिसँगको अन्तरसम्बन्धलाई नजिक बनाउन मध्यमार्गीको भूमिका समेत खेल्दै आएको छ । यसर्थ यहाँ जेसिज पाल्पाले गत शनिबार जिल्लामै पहिलो पटक आयोजना गरेको स्थानीय तह र नागरिकबिच “युवाको प्रश्न नेतृत्वसंग” विषय खुल्ला बहसका बारेमा मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।

 पाल्पा जेसीजको ध्यानाकर्षण यतिबेला मुलुकमा राज्य सञ्चालन गर्ने तीनै तहको सरकार र नेतृत्व पंक्ति समक्ष प्रश्नवाचक चिन्हको रुपमा रहेको छ । देश संघीयतामा गएपछि बनेका स्थानीय सरकार र ति सरकारहरुले युवाहरुको क्षेत्रमा गरेका कामहरुका विषयहरु सार्वजनिकीकरण गर्ने निर्वाचनका समयमा गरिएको प्रतिवद्दता सम्झाउने र कति काम भयो, बाँकी कति छ, भन्ने जस्ता प्रश्नहरु युवाहरुले आफ्ना जनप्रतिनिधिहरुसँग राख्ने वातावरण जेसिजले गत शनिबार मिलाएको थियो । जेसिजले “युवाको प्रश्न नेतृत्वसँग” विषय खुल्ला बहस कार्यक्रम गर्नु आफैमा सकारात्मक कदम हो । यस कार्यक्रममा युवाहरुले प्रत्यक्ष आफ्ना स्थानीय तहका आफैले मतदान गरी नेतृत्वमा पठाएका पालिका प्रमुखहरुसँग सम्वाद गर्ने वातावरण निर्माण गरिएको थियो । कार्यक्रममा उपस्थित युवाले पालिकाको युवा लक्षित कार्यक्रमसहित समग्र क्षेत्रका विकास गतिविधि बारे खेलेको भूमिका बारे विचार राख्ने ऐतिहासिक अवसर प्राप्त गरे । यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । युवाको प्रश्न नेतृत्वसँग कार्यक्रमले स्थानीय तह र युवाबिच विकास गतिविधिका बारेमा प्रत्यक्ष साक्षत्कार गराउन, युवा र जनप्रतिनिधिबिच दुरी कम गराउन जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा युवा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम सञ्चालनको वातावरण निर्माण गराउने विश्वास लिइएको छ । पाल्पा जेसीज वर्ष २०२४ को पहलमा आयोजना गरिएको  कार्यक्रमले युवा र स्थानीय पालिकाहरुबिचको सम्बन्धलाई थप प्रगाढ र विश्वासमूलक बनाउने विश्वास लिइएको छ । बहस कार्यक्रममा पाल्पा क्षेत्र नं. २ मा रहेका ५ पालिका प्रमुखहरुको सहभागिता रÞयो । जसले युवाहरुको प्रश्नको जवाफ दिएका थिए । अघिल्ला दुई वर्ष (आ.व. ०७९/०८० र ०८०/०८१) मा वार्षिक युवा लक्षित कार्यक्रमको अवस्था त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेशबाट फर्किएका युवाहरुको व्यवस्थापन विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले गरेका काम, भावि योजना र पालिका प्रमुखहरुको प्रतिवद्धता लिइएको छ । युवा शक्ति, सिर्जना र विकासका मेरुदण्ड हुन् । राष्ट्रबाट युवा शक्ति पलायन हुनु भनेको शरिरमा पक्षघात हुनु जस्तै हो । जापान, चीन, भारत जस्ता मुलूकहरुले आर्थिक समृद्धि त्यसबेला हासिल गरेका हुन् जुन बेला युवा जनसंख्या बढी थियो । नेपालमा शासन व्यवस्था वा सरकार जति फेरिए पनि युवा शक्तिलाई देश भित्रै राख्नु पर्छ भन्ने सोंच आएको देखिन्न । राणाहरुले गोर्खा भर्तीको नाममा युवाहरु बेच्न सुरु गरे, आजपनि त्यो क्रम रोकिनुको सट्टा व्यापक विस्तार भएको छ । आज मेरो छोरा अस्ट्रेलिया छ, मेरी छोरी अमेरिका छे भनेर गर्व गर्ने मनोविज्ञान विकास भएको छ । त्यो राष्ट्रको लागि निकै प्रत्युत्पादक छ । आज रेमिटान्सले देश धानेको छ यदि त्यो रोकिने अवस्था आए के होला ? उत्पादन र औद्योगिकरणमा राज्यले सोचेन हामी विकास विकास भन्छौं तर मानव नै नरहे त्यो विकास कसका लागि ? हिजो सम्म गाउँ रित्तो हुँदै थिए, आज त शहर पनि रित्तिने अवस्थामा छन् । अब देश बृद्धाश्रममा परिणत हुँदैछ । विद्यालय शिक्षामा सफल र असफल दुवै भएका युवाहरु विदेश पलायन हुँदै छन् । यसको जिम्मेवारी कसले लिने ? रोजगारको सिलसिलामा होस् या अध्ययनको बहानामा होस्, युवाहरुले घर, गाउँ, शहर, राजधानी र यो देश नै छोडी बाहिरिएका छन्, यस्तो किन सरकार ? युवाहरुले गणतन्त्र ल्याएको आफै बाहिरिनलाई हो र सरकार ? युवा परिवर्तनका संवाहक हुन्, युवा यस देशका क्रान्ति र शान्ति हुन्, युवा यस देशका कर्णधार हुन्, युवा शक्ति नै राष्ट्र शक्ति हो, यस्तो सत्यता माथी खेलवाड गर्ने अधिकार तिमिलाई कसले दियो सरकार ? यस देशको लागि उत्तरदायित्व र जिम्मेवारी युवाहरुमाथी खेलवाड गर्नु देशकै भविश्य र जनतामाथी कुठाराघात गर्नु हो ।

आजको यो युवाको भिडमा हरेक युवाको दिमागमा फलानो अमेरिका, फलानो अस्ट्रेलिया, फलानो क्यानडा, फलानो जापान, म त केही गरिरहेको छैन् मेरो भविष्य कहाँ कुन देशमा होला भनेर हरेक युवाले यो देशमा भविष्य देख्न छाडेका छन् । आजको यो परिस्थिति कसले ल्याइ दियो ? युवा भविष्य हुन्, युवा भविष्यका कर्णधार हुन, तर युवा भविष्य मात्र होइन युवा शसक्त वर्तमान पनि हुन् । त्यसैले युवा जमातले के सोच्छ, कस्तो किसिमको सपना देख्छ, कस्तो किसिमको आकांक्षा राख्छ, कस्तो किसिमको व्यवहार अपनाउँछ त्यसले भविष्यको समाज र भविष्यको राष्ट्रलाई मात्र केन्द्रविन्दु राख्दैन । अहिलेको वर्तमान समाज र वर्तमान राष्ट्रको पनि एकदमै राम्रो परिचय दिन्छ । त्यसैले युवाहरुको गतिविधि, युवाहरुको सोचाई, आचरण, सपनाहरुले असाध्यै महत्वपूर्ण भूमिका खेल्छ । 

युवा अवस्थामा भरपूर उर्जा हुन्छ । भरपूर एक किसिमको आफ्नै आत्मविश्वास हुन्छ, भविष्य जित्ने एउटा हिम्मत हुन्छ  । तर त्यती मात्रै होइन युवामा आफ्नो परिस्थितिलाई लिएर अन्यौलता, आफ्नो ब्यक्तित्वलाई लिएर प्रश्नचिन्हहरु यस्तै यस्तै विभिन्न प्रश्नचिन्हहरुले गर्दा नै युवाहरु मात्र होइन ८,९,१० कक्षाका बालबालिकाले पनि आफ्नो भविष्य आफ्नै मुलुकमा देख्न छाडेको अवस्थामा सबै खालका बालबालिकाहरु र युवाहरु डिप्रेसन, फस्टेसनमा जाने अवस्था कसले ल्याइदियो ? बालबालिकाले त  आफ्नो सुनौलो भविष्य आफ्नै मुलुकमा देखेर, आफ्नै मुलुकमा सेवा गरेर, समृद्ध मुलुक निर्माणका लागि अगाडि बढ्नु पर्ने होइन र ? सिंहदरबार घर घरमा भन्ने गणतान्त्रिक स्थानीय सरकारले आफ्नै घर आँगन पालिकाका युवाहरुलाई किन रोक्न सकेन त ? हो यस्तै अनुत्तरित प्रश्नहरुको प्राप्तिका लागि पाल्पा जेसिजले यस बहसमार्फत युवाहरुले नेतृत्वलाई प्रश्न गर्ने वातावरण तय गरिदिएको हो । तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, तिनाउ र रिब्दीकोट गाउँपालिकाका स्थानीय सरकार प्रमुखहरुलाई मात्र नभई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिको रुपमा रहेका  संघ, प्रदेश र स्थानीय सरकारका साथै जिम्मेवार राजनैतिक पार्टीका जिम्मेवारी नेताहरुलाई  समेत युवाहरुले प्रश्न गरेका थिए । सहभागी सबै पालिका प्रमुखहरुले युवाहरुको प्रश्नलाई गम्भिरता पूर्वक सुनेर उनिहरुलाई समर्पित उत्तर दिएका थिए । यसले युवा र पालिकाबिचको दुरी घटाउने र पालिकाले युवालाई प्रोत्साहन गर्ने, पर्यटन प्रवद्र्धनमा पनि युवाको भूमिका र महत्व र युवा उद्यमशीलता विकासका योजनाहरुमा युवाहरुको प्रत्यक्ष संलग्नतामा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । बहस कार्यक्रममा हरेक युवाहरुले उठाएका प्रश्नहरुको सम्बोधन प्रतिनिधि पात्रको रुपमा ५ वटा पालिका प्रमुखहरुले दिएता पनि उपस्थित तिनै तहका सरकार र राजनैतिक पार्टीका प्रमुखहरुलाई सचेत र जिम्मेवारी बोध बनाउनका लागि समेत उपस्थित गराइएको थियो । सहभागी युवाहरुले आफ्नो प्रश्नहरुलाई प्रत्यक्षरुपमा नेतृत्वसँग राखेका थिए । यस कार्यक्रमले समृद्ध पालिका निर्माणको प्रक्रिया र निर्णय प्रक्रियामा युवाहरुको आवाजलाई महत्व दिने विश्वास जेसीजले लिएको छ । सहभागी पालिका प्रमुखहरुले युवाहरुको सुझाव र अपेक्षाहरुलाई सम्बोधन गर्दै समाजका विभिन्न क्षेत्रहरुमा सुधारका लागि ठोस योजना र पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जय जेसीज
( यो लेखमा अध्यक्ष कार्कीले “युवाको प्रश्न नेतृत्वसँग” विषयक बहस कार्यक्रममा प्रस्तुत गरेको स्वागत मन्तव्यमा आधारित विषयहरु समावेश गरिएको छ ।)

     

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update