Shittalpati
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो

पाल्पा, लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई २४ सैं घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालयलाई जुनसुकै बेला पनि उज्यालो हुने बनाइएको हो ।

दैनिक तीन/चार सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । यहाँ वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था नहुँदा विद्युत गएका बेला पर्यटकहरु संग्रहालय अवलोकन नगरी फर्कन बाध्य थिए । समस्या समाधानका लागि संग्रहालयले विगतदेखि नै हारगुहार गर्दै आए पनि समस्या टरेको थिएन । केही समय अघि संग्रहालय अवलोकन गर्न पुगेका लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विजुलीबत्ती नहँुदा पर्यटकहरुले संग्रहालय अवलोकन गर्न नपाउने अवस्था देखेपछी ‘दरबार संग्रहालयमा बैकल्पिक  उर्जाको व्यबस्था मिलाउन अनुरोध गरेका थिए । मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय थलो पाल्पा दरबार संग्राहलयमा तत्काल बैकल्पिक उर्जाको व्यवस्था गर्न मन्त्रालय मातहतको पर्यटक परिषदलाई निर्देशन दिए लगत्तै  परिषदले तत्कालै इन्भटर खरिदका लागि संग्राहलयलाई बजेटको व्यवस्थापन गरिदिएको थियो । यहाँ अहिले इन्भर्टर जडान गरिएको छ । ‘दरबार सङग्रहालयमा वैकल्पिक ऊर्जाको कुनै पनि व्यवस्था थिएन, विद्युत् नभएको समयमा संग्राहलय अँध्यारो रहने अवस्था थियो,’ संग्रहालयका कार्यकारी निर्देशक श्याम कुमार पौडेलले भने ‘संग्रहालय अँध्यारो हुँदा अनुगमनका लागि आउने पर्यटकहरूबाट लामो समय देखि गुनासो सुन्दै आएका थियौँ, वर्तमान पर्यटन मन्त्रीज्यू समक्ष हामीले समस्याका बारेमा जानकारी गरायौँ, र तत्कालै उहाँबाट हाम्रो समस्या सम्बोधन भएको छ ।’ इन्भर्टर जडान भएपछि अहिले संग्रहालयमा अँध्यारोको समस्या दीर्घकालीन रूपमा टरेको छ ।

पाल्पा दरवार संग्रहालयमा धेरै भन्दा पर्यटकहरु भित्र्याउने, अवलोकन गराउने, पुराना कलासंस्कृतीको बारेमा जानकारी गराउने, विभिन्न पक्षलाई सोधखोज तथा अनुसन्धानमा सहयोग पुर्‍याउन आवश्यक पूर्वाधारहरुको विकास गर्न मन्त्रालयले आवश्यक कामहरु गर्दै आएको पर्यटनमन्त्री न्यौपानेले बताए । २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणबाट ध्वस्त भएको पाल्पा दरबार लाई पुनः निर्माण पछी २०७२ साल देखी दरवार संग्रहालयको रुपमा सञ्चालनमा आएको थियो । पाल्पा दरवारलाई प्रताप शमशेरण राणाले निर्माण गरेका थिए । तत्कालिन विद्रोही माओवादी आक्रमण हुनु अघि पाल्पा दरवारमा जिल्लाका अधिकाशं कार्यालयहरु सञ्चालनमा रहेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update