Shittalpati
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा

पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।

विगतका वर्षहरुमा मेला हेर्न जाने भक्तजनहरुले यातायातको सहज सुविधा नपउँदा सास्ती  खेप्नुु परेको अवस्थालाई मध्यनजर गरी सहज यातायातको व्यवस्था मिलाइएको कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमले एनजेडीलाई जानकारी दिए । उनका अनुसार कार्तिक २७ देखि ३० गतेसम्म झुम्सादेखि सत्यवती नियमित रुप जिप सेवा सञ्चालन गरिएको हो ।

सर्वपक्षीय बैठकबाट प्रति यात्रु एकतर्फी रु.२ सय भाडादर कायम गरिएको छ । कम्पनीले सेवा सञ्चालनको क्रममा हुने असहजतालाई सहजीकरण गर्न सेवा केन्द्र समेत स्थापना गरेको छ ।

 कात्तिक पूर्णिमाको अवसर पारी सत्यवतीमा हरेक वर्ष मेला हुने गर्दछ । परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको संख्या बढी हुने जनाइएको छ । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कात्र्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रहेको छ ।

 परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् । बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ । यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update