Shittalpati
दुर्घटनाको शृंखला रोकौं

पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढिरहेको छ । शुक्रबार यता सुर्खेत, चितवन र बागलुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने केही यात्रु घाइते भएका छन् । घटनाको यथार्थ कारण नखुले पनि साँघुरो, जीर्ण सडक तथा चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास हुन्छन् तर दुर्घटनामा नागरिकले अनाहकमा मृत्युवरण गरिरहनुपर्ने अवस्था यथावत् छ । दैनिक हुने साना दुर्घटनामा त कसैको ध्यान जाँदैन तर जब ठूलो दुर्घटना हुन्छ तबमात्र राज्यसंयन्त्रले छानविन समिति बनाउनेदेखि राहतका कुरा उठाउँछ । पीडामा परेकाबाहेक केही दिनमै सबैले यी कुरा बिर्सछन् । पीडक पीडामै हुन्छन्, दुर्घटना गराउने सहजै उम्कन्छन् । यही नियतिले पछिल्लो समय सडक दुर्घटनाका समाचार सुनिँदै आइएको छ ।

दुर्घटना अचानक हुने घटना हो जसले गर्दा कसैले रोक्न सक्दैन तर सावधानीले कमी गराउन भने अवश्य सकिन्छ । सचेतताका कारण लापरवाहीबाट हुने दुर्घटना हुँदैनन् वा कम हुन्छन् । मानिसको जीवनसँगको सवाल भएकाले यातायातका क्षेत्रमा उच्च सतर्कताको आवश्यकता छ तर हाम्रोमा भने लापरपवाही हुने गरेको छ । जसले गर्दा दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । यातायात क्षेत्रमा कडाइ नगरिनाले यस्तो हुने गरेको हो । यातायात क्षेत्रलाई व्यवस्थित गर्न स्थापना भएका निकाय र पदासीन व्यक्तिहरूले यसमा नियमन र निगरानी गर्ने हो भने निश्चय दुर्घटनामा कमी गराउन सकिन्छ । 

हाम्रो देशमा जिम्मेवार व्यक्तिहरू नै यातायात व्यवसायीको कठपुतली बन्ने गरेका र उनीहरूलाई यस्ता सबै काममा अघोषित रूपमा छुट दिने गरेको भन्ने आक्षेप लाग्ने गरेको कुरामा केही सत्यता छ । जसले गर्दा पनि यस्ता  घटनाहरुले पश्रय पाइरहेका छन् । यो अत्यन्त दुखको कुरा हो । सडक दुर्घटनामा भइरहेका कहालीलाग्दा दुःखान्तहरूले सम्बन्धित परिवारलाई मात्र होइन, शासकहरूलाई पनि दुख्नुपर्छ । सडक सुरक्षाको सवाल कुनै ठूलो दुर्घटना भएपछि सामान्य चर्चाको विषय बन्ने र पछि त्यसै सेलाउने हुनु हुँदैन । यसबारे कुनै एक पक्षमात्र सचेत भएर हुँदैन समग्र राज्यसंयन्त्र र निजी क्षेत्र नै सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update