भैरहवा, पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ । उनलाई पोखराबाट मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा ल्याइएको हो ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो । रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगि बयान लिन सुरु गरिएको हो । भित्र रविको बयान भइरहँदा बाहिर भने सहकारी पीडितको प्रदर्शन जारी थियो । उनीहरूले भैरहवामा नाराबाजी गरेका थिए । सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका छन् । सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले ‘सहकारीपीडितलाई न्याय दे’, ‘सहकारी ठग्न पाइँदैन’, ‘सहकारी ठगीको निष्पक्ष छानबीन गर‘ लगायत नारा लगाएका थिए । प्रदर्शनमा ५० भन्दा धेरै पीडित सहभागी भएका थिए । राजनीतिक संरक्षणमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरुको माग छ । उनीहरुले दुई वर्षदेखि न्याय माग्दै आए पनि अहिलेसम्म सुनुवाई नभएकाले प्रदर्शन जारी रहने जनाए । सिहकारी पीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए ।
‘हामीलाई न्याय चाहिएको हो, कसैको विरोध होइन ।’,उनले भने, ‘हाम्रो खुन–पसिनाको बचत तुरुन्त फिर्ता गरियोस् ।’ बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको थियो ।बाहिर सहकारी पीडितको आन्दोलन