रगतमा भएको ग्लुकोजको मात्रा बढ्नुुलाई मधुमेह भनिन्छ । यो विश्वभर नै बढ्दो रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरवाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव जस्ता कारणहरुले अहिले मधुमेह महामारीको रूपमा देखिएको छ । यो खतरा हाम्रोजस्तो कम विकसित देशहरूमा अझ बढी देखिएको छ । यसरी महामारीको रूपमा फैलिएको मधुमेहसम्बन्धी व्यापक जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मधुमेह दिवस मनाउने गरिन्छ । सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक वर्ष नोभेम्बर १४ अर्थात् आजकै दिन विश्व मधुमेह दिवस मनाउँदै आएका छन् । मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो ।
मधुमेह इन्सुलिन हर्मोनको गडबढीबाट हुने रोग हो । यो सरुवा रोग होइन । यो नियन्त्रण राख्न सकिने तर निको नहुने दीर्घकालीन रोग हो । यो रोग धनी, गरिब, बच्चा, वयस्क, सहर तथा गाम्रीण भेगमा बस्ने जोकोहीलाई पनि लाग्न सक्छ । हाल विश्वमा मधुमेहका कारण प्रत्येक ८ सेकेण्डमा १ जना मानिसको मृत्यु हुने गरेको छ । मधुमेहका कारण ह्दयाघात र पक्षघातको सम्भावना २ गुणाले, अन्धोपन हुने सम्भावना २ गुणा र मिर्गौला बिग्रने सम्भावना ५ गुणाले बढ्छ । मधुमेह नियन्त्रणमा नराख्दा गर्भवती अवस्थामा बच्चा र आमा दुवैमा नकारात्मक प्रभाव पार्न सक्छ । मधुमेह समयमै पत्ता नलागी अकालमा ज्यान गुमाउनेहरूको संख्या पनि धेरै छ । त्यसकारण मधुमेह सम्बन्धी चेतना चारैतिर फैलाएर यो रोगबाट हुनसक्ने नराम्रा परिणामहरूबाट बच्न सकिन्छ । विशेष गरी मधुमेह खानपिन र जीवनशैलीसँग सिधै सम्बन्ध भएको रोग हो । खानपिनको गडबढीजस्तै खानामा कार्बोहाइड्रेटको मात्रा बढी, चिल्लो र गुलियो बढी, अल्छी जीवनशैली, व्यायामको कमी, मोटोपना र तनाव बढी लिएमा मधुमेह हुने सम्भावना धेरै हुन्छ । त्यसैले खानपिन र जीवनशैली सुधार गरेमा मधुमेहबाट बच्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।