✍️ज्योतिष मुकुन्द पोखरेल
भूमिखण्डमा घर बनाउन आवश्यक भैसकेको छ र अन्यत्र आफ्नो घडेरी छैन भएकै ठाउँमा घर बनाउनु पर्नेछ । तर छिमेकीहरूले फोहोर, मैला फालेर कुरूप बनाएका छन्, वातावरण दूषित छ अर्थात् घडेरीमा पानी जम्ने खाल्टो छ, पुरानो बस्ती, श्मशान, ओढार, मन्दिर जस्ता संरचना भएर माटो नै नराम्रो छ भने यो शल्योद्धार (निर्मलीकरण) विधि अपनाएर घर बनाउन सकिन्छ। यी सबै विधि अर्थात् तरिका एउटै घडेरीमा प्रयोग गर्नु आवाश्यक छैन तर अवस्थाअनुसार एकभन्दा धेरै विधि अपनाउन सकिन्छ। घडेरीमा खराव पदार्थ (वस्तु) पुरिएको (छोपिएको) हुन सक्छ। जस्तो कि हड्डी, भूस, कोइला, कपाल, शंख, सर्पको अण्डा, कौडी (जुवाको), रुवा, अगुल्टो, ईंटा, ढुङ्गा, फलामका टुक्रा, खप्पर, तामो वा अन्य कुनै धातुका भाडावर्तन आदि। यस्ता पदार्थ (मल) लाई हटाउनु, सफा गर्नु वा निर्मलीकरण गर्नु लाई शल्योद्धार भनिन्छ। यस्ता शल्य (मल) लाई नहटाई घर, भवन, व्यापारिक कम्प्लेक्स बनाएमा त्यस्तो संरचनाको मालिकलाई कुप्रभाव पर्दछ। त्यसैले शल्योद्धार गरेर मात्र घर, भवन, आदि संरचना बनाउनुपर्दछ। शल्यका कारणले राम्रो नराम्रो दुवैखाले प्रभाव घरमालिकलाई र केही हदसम्म त्यस्ता शल्य भएका ठाउँमा बनाएको धर, भवन, विद्यालय, व्यापारिक कम्प्लेक्समा व्यवसाय गर्ने निवास गर्नेलाई पनि पर्दछ। शल्योद्धार (निर्मलीकरण) का अनेकौं विधिहरू हाम्रा पूर्वीय वाड्मयमा बताइएको छ, तीमध्ये हाम्रो माटो (नेपाली माटो) भूमि, परिवेश, वातावरण, समाज, घर बनाउने परम्परा सुहाउँदो यस प्रकार छन्।
विधि १( घडेरी भएको ठाउँमा खाल्टो छ भने खाल्डोलाई यथाशक्य धेरै पुरी दिने र न्यूनतम छ महिनासम्म छोडीदिने । जब पुरिएको ठाउँमा घाँसपात पलाउँछ अनि घर बनाउने , तर खाल्टो पुर्दा राम्रो स्वच्छ स्थानको माटोको प्रयोग गर्ने सकिन्छ । पुरिएको ठाउँमा तुलसी छरिदिने , तुलसीको बोट सुकेपछि त्यसलाई उखेलेर अर्थात् हटाएर शुभमुहूर्तमा शिलान्यास गरी घर बनाउन सकिन्छ ।
विधि २ ( घडेरी हेर्दा राम्रै छ तर निर्मलीकरण गरेर मात्र घर बनाउने इच्छा छु । शल्य कसरी थाँहा पाउने सो चिन्ता छ भने विद्वान् ज्योतिषी वा वास्तुविद्कोमा गएर माटो देखाउने, माटो देखाउन घडेरीको चारै कोण र मध्यभागको १८ इन्चदेखि ३६ इन्चसम्म गहिरो खन्नुपर्दछ र त्यहाँको माटो निकालेर कुनै कागज वा झोलामा राख्नुपर्दछ। प्रत्येककोणको माटोको पोकामा नाम लेख्नुपर्दछ। जो कि कुन कोणको हो भनी चिन्न सकियोस् । त्यसरी माटो निकाल्दा ॐ भुम्यै नमः ॐ वास्तुपुरुषाय नमः भन्ने मन्त्र जप्नु पर्दछ। नित्यकर्म गरी अर्थात् शुद्ध भई निकालिएको माटो भूइमा नराखी वास्तुविद् ज्योतिषीकहाँ देखाउन लैजानुपर्दछ । यो भूमिबाट माटो निकाल्दा प्रातःकाल अर्थात् सूर्योदय उपयुक्त रहन्छ।
परीक्षण विधि ( शुभवार, शुभतिथि, शुभमुहूर्तमा स्वस्तिवाचनपूर्वक घडेरीको बीचमा एउटा १८ इन्च गहिरो खाडल खन्नुपर्दछ । त्यसमा चारै दिशामा बत्ती बाल्नुपर्दछ । जुन दिशाको बत्ती धेरै बेरसम्म बलीरहन्छ सोही वर्ण अनुसारको मान्छेलाई त्यो घडेरी शुभ रहन्छ । यो परीक्षण विधि मत्स्यपुराण समरांगण सूत्र जस्ता वास्तुशास्त्रीय ग्रन्थमा भेटिन्छ ।
त्रिपञ्चसप्तरात्रे च यत्रारोहन्ति तान्यपि ।
ज्येष्ठोत्तमा कनिष्ठा भूर्वर्जनीयातरा सदा ॥
मत्स्य पुराणअनुसार घडेरीमा अन्न (शुभ अन्न) बीउ छर्नुपर्दछ। यदि त्रिरात्रमा अंकुरण भए उत्तम, पञ्चरात्रमा मध्यम र सप्तरात्रमा मात्र बीज अंकुरण भएमा अधम मानिन्छ !