Shittalpati
सुन तोलामा दुई हजार दुई सयले घट्यो

पाल्पा, बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला २ हजार २ सयले घटेको हो ।

बुधबार प्रतितोला  एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन विहीबार घटेसँगै एक लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । अघिल्लो दिन प्रतितोला  एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी विहीबारका लागि भने  एक हजार नौ सय पाँच निर्धारण भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा पछिल्ला केही दिन यता गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ । मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबका दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update