पाल्पा, आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका हुन् । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानक हुन् । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘ल·र परम्परा’को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे ।
हरेक बर्ष कात्तिक पूणिर्माका दिन शिख धर्माबलम्बीहरुले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् । नेपालमा डेढसय बर्ष अघिदेखि शिख समुदाय प्रवेश गरेको बताइएको छ । शिख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर पनि मनाउने गर्छन् । नेपालमा अल्पसंख्यक समुदायमा पर्ने शिखहरूको गुरुद्वारा मठ नेपालमा पनि सिमित मात्रामा छन् । भारत र पाकिस्तानमा भने शिख समुदायको संख्या उल्लेख्य मात्रामा छ ।