पाल्पा, देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा भएका छन् । १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएपछि देशभरका जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएका हुन् ।
स्थानीय तहबाटै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी घोषणा गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने चलन रहेको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले ती सबै जिल्लाका शतप्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको जनाएको छ । नेपालमा पहिलोपटक पाल्पा र अछाम पूर्ण खोप जिल्ला घोषित भएका थिए । पहिलो पटक पूर्ण खोप घोषणा भएको पाल्पाका १० वटै स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ३ हजार ३ सय ८ जना बालबालिका र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका १० हजार ५ सय ६० जना बालबालिका मध्ये सर्वेक्षण गर्दा भेटिएका ६ जना बालबालिका ड्रप आउट भएकाहरुलाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको थियो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पुरा गरेको पाइन्छ । पाल्पालाई पहिलो पटक २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान अनुरुप यो कार्यक्रम हुँदै आएको हो । सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ । कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ । यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिर्दै आएको छ । सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ । यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टड्ढार, हेपाटाइटटिस–बी इन्फ्लुएन्जा–बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । चौध हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टड्ढार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ ।
नौ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ । शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने गरिन्छ । देशभरका सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाड्ढ्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा चार प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ ।