आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो हरेक वर्ष नोभेम्बर १६ मा मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । यो युनेस्कोद्वारा घोषित एक दिवस हो । जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जनजागरूकता फैलाउने काम गर्दछ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवद्र्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गर्दछ । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो । सोही अनुरुप यो दिवस मनाउने गरिन्छ । नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस महत्वपूर्ण हुने गर्दछ ।
विश्वभर असहमति, असमझदारी र सहनशीलता गुमेपछि आइपर्ने अशान्ति हटाउन यो दिवस मनाइन्छ । राजनीति परिवर्तन र परिवर्तनले निम्त्याउन सक्ने गैरराजनीति अवस्था गलत राजनीतिक प्रवृत्तिको उदय र विवादनको बहस हामीले बारम्बार देखिरहेका छौँ । यसै सिलसिलामा विश्वभर अशान्तिका कारण आतंककारी हमला छन् । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ । मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ । अशान्ति हटाउन सबैैभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानवअधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी वैज्ञानिक शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा सहनशीलता बढाउन शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । यसर्थ शान्तिको विकास गर्न सकियो भने मात्र अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाउनुको सार्थकता रहन्छ ।