Shittalpati
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान

पाल्पा, पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।

उसले छविलाल प्रतिभा पुरस्कारबाट साहित्यकार डिल्लीराज अर्याल, भैरव तुल्सीसिंह स्मृती पुरस्कारबाट शान्ता शाक्य, अथक रेग्मी साहित्य पुरस्कारबाट कालुमान अमात्य, इन्द्रराधा समाजसेवा प्रतिभा पुरस्कारबाट निलम गंगोल, पाल्पा साहित्य समाज पुरस्कारबाट महेशरत्न शाक्य, केशवलाल बज्राचार्य, बुद्धरत्न शाक्य, सुदनराज शाक्यलाई सम्मान गरेको छ । पुरस्कृत व्यक्तिहरुलाई विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष वेनबहादुर पौडेल क्षेत्री, संस्थाका संरक्षक राजेन्द्रगोपाल सिंह, अध्यक्ष पुष्करराज रेग्मी लगायले नगद, सम्मानपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एवं विश्व हिन्दु महासंघका उपाध्यक्ष पौडेल क्षेत्रीले पाल्पा साहित्य समाजले विभिन्न क्षेत्रमा योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरुलाई सम्मान गरेर उनीहरुको जीवनमा थप उर्जा थप्ने काम गरेको बताए । यस्तो अभियानले काम गरिरहेका व्यक्तिहरुमा काम गर्ने जोश जागर अझै बढ्ने, आत्मविश्वासमा वृृद्धि हुने उपाध्यक्ष क्षेत्रीले बताए ।  कार्यक्रममा विशिष्ट अतिथि भागवत खनालले पाल्पा आफैमा साहित्यको धनि जिल्ला भएपनि संस्थाको नियमित आयश्रोत नहुँदा समेत साहित्य कार्यक्रमलाई निरन्तरता दिने, सम्मान गर्ने अभियानले सबैलाई प्रेरणा दिएको बताए । बरिष्ठ पत्रकार मेघराज शर्माले  समाजले अन्य साहित्य संस्थाले भन्दा बेग्लै किसिमबाट कार्यक्रम चलाउने, सम्मान गर्ने कार्यले पाल्पाको साहित्य क्षेत्रलाई उर्जावन बनाएको बताए । समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले संस्था जन्माउने, हुर्काउने र सोही अनुसारको काम पनि गर्ने गराउने गर्दै आएको बताए । समाजले साहित्य क्षेत्रलाई माथि उठाउन नियमितरुपमा प्रतिभा सम्मान पुरस्कार कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु केशवलाल बज्राचार्य, बुद्धरत्न शाक्य, युवा नेता केशव बस्याल लगायतले पाल्पा साहित्य समाजले गरेका कामहरुबाट आफुहरु प्रभावित भएको बताए । समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, संस्थाका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत, संस्थाका सदस्य कमल बस्यालले पुरस्कृत व्यक्तित्वको चर्चा र सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update