पाल्पा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
महासंघ केन्द्रीय समितिले सञ्चालन गरेको अभियानलाई लुम्बिनी प्रदेशले पाल्पाको तानसेनबाट सुरु गरेको महासंघ पाल्पाका सचिव विष्णु खनालले जानकारी दिए । उनका अनुसार अभियान मंसिर ८ गतेसम्म सञ्चालन हुने छ । अभियानको महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले शुभारम्भ गरेका हुन् । अभियानको शुभारम्भ गर्दैै उपाध्यक्ष शिवाकोटीले व्यवसायीहरुबिचको सम्बन्ध प्रगाढ बनाई व्यवसायको वृृद्धिसँगै महासंघको संगठनलाई गतिशील बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए । अभियान अन्तर्गत सबै जिल्लामा पुगेर ब्यवसायीहरुबाट आएको सुझाव अनुसार नयाँ कार्ययोजना बनाउने उल्लेख गरे । उपाध्यक्ष शिवाकाटीले भने‘ देशभरी रहेका व्यवसायीहरुलाई व्यवसायीक हित, कर शिक्षा, ब्यवसायिक एकता लगायतका विषयमा जानकारी गराउने छौं । ’
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हेमानन्द शर्माले अनुशासित र सम्मानयोग्य व्यवसायको रुपमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरु रहेकाले यो गरिमा कायम राख्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । महासंघ रुपन्देही जिल्ला अध्यक्ष गोपाल बस्यालले अभियानको समापन बुटवलमा गरिने जानकारी गराए । पाल्पाका निर्वतमान अध्यक्ष किशोर भट्टराईले जिल्लाको व्यवसायिक वस्तुस्थितिका बारेमा जानकारी गराउँदै महासंघलाई बलियो बनाउन व्यवसायीहरुबिच एकता आवश्यक रहेको औल्याए । महासंघ पाल्पाका सल्लाहाकार राजेन्द्र लिगलले अभियानलाई सफल बनाउन सबै जिल्लाका महासंघहरु लाग्नुपर्नेमा जोड दिए । सोही अवसरमा पाल्पाका संस्थापक अध्यक्ष केदारलाल श्रेष्ठलाई दोसल्लाले सम्मान गरिएको थियो । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता, पाल्पा अध्यक्ष रामप्रसाद पन्थीको स्वागत,सचिव विष्णु खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।