प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरिन्छ । शौचालयको सरसफाइ कायम राख्नुको अर्थ विभिन्न संक्रमणबाट बच्नु हो । किनभने धेरै रोगजन्य कीटाणु शौचालय सिट,फ्लसिङ बटन र वरपर रहेका वस्तुमा रहने गर्छन् ।
जब ती सूक्ष्मजीव छाला, नाक, मुख वा आँखामा हावाको माध्यमबाट पुग्छन् त्यसले धेरै प्रकारका संक्रमण निम्त्याउँछन् । यस्ता संक्रमणले गम्भीर रूप पनि लिन सक्छन् । त्यसैले शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्याउने असरमा केन्द्रित रहेर हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् । खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्रको रुपमा आफुलाई घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन । नेपालमा अझै पनि ४.५ प्रतिशत अर्थात् ३ लाख १ हजार ४ सय ९० मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । हचुवाको भरमा खुला दिशामुक्त घोषणा गर्दा अहिले पनि आमनागरिकले समस्या झेल्नु परेको छ ।
नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषणा भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । खुला दिसामुक्त घोषणा हुनु स्वास्थ्य,सरसफाई र मानव सभ्यताको हिसाबले महत्वपूर्ण उपलब्धि भए पनि त्यसको कार्यान्वयन नहुनुले त्यसको कुनै अर्थ राख्दैन । यसर्थ खुला दिशामुक्त भएका जिल्लाहरुलाई सफल कार्यान्वयनको दिशामा अगाडि बढाउन तीनै तहका सरकार, दातृ राष्ट्र तथा निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र समुदायको साझेदारी,सहयोग र सहकार्य हुन सके मात्र विश्व शौचालय दिवसले साथर्कता पाउन सक्छ ।