Shittalpati
आज विश्व शौचालय दिवस मनाइदैं

पाल्पा, आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।  संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले अझै पनि समस्या भोग्नुपरेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । 

सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग मानिन्छ । नेपाललाई सन् २०३० सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि धैरै मानिसहरु शौचालयको पहुँच बाहिर छन् । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । शहरी तथा राजमार्गका व्यस्त चोकहरूमा भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको छ । 

घरमा शौचालय हुनु र खुलास्थानमा दिशा पिशाब नगर्दैमा समेत सरसफाईको लक्ष्य हासिल हुँदैन । ढल प्रणालीमा नजोडिएका शौचालयमा जम्मा भएका दिशा र खोला नालामा निसृत गरिएका ढल हाम्रालागि ठूलो चुनौतिका विषय भएका छन् । देशभरका ७ सय ५३ पालिकाहरुमा ढल प्रशोधन र व्यवस्थापनको ठूलो चुनौती देखिएको छ । ढल प्रशोधन प्रणाली विकास र व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने खाँचो छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update