Shittalpati
बाल दिवस र यसको सार्थकता

प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ । आज यस वर्षको दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरुवात भयो । त्यही लहरबाट नेपालमा पहिलोपटक बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य योजनाहरू आयो ।

बालबालिकाको अधिकार र संरक्षणका लागि सरकार तथा वयस्कहरुले प्रण गर्ने, सरकार तथा सरोकारवालाहरुले आफुले गर्ने कार्यहरुलाई व्यवस्थित गर्ने तथा देशलाई नेतृत्व प्रदान गर्ने बालबालिकाको लागि गरेका कार्यहरुको समीक्षा र नयाँ योजना सुरुवात गर्ने दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । बालबालिका प्रकृतिका सुन्दर संरचना हुन, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यका संवाहक पनि हुन् । बालबालिकाविनाको समाज कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । बालबालिकाहरुको लागि संविधानले थुप्रै अधिकारहरु प्रत्यायोजन गरेको छ । तर ति अधिकारहरु कार्यान्वयन भने  हुन सकिरहेका छैनन् । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सकिएको छैन । यो अत्यन्त दुखको कुरा हो । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको औचित्यलाई बुझाउन सक्नुपर्दछ । बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं भन्ने पक्षले राष्ट्रिय बालदिवसको औचित्यलाई मापन गर्न सकिन्छ । एक दिन दिवस मनाउँदैमा सबै परिवर्तन भइहाल्छ, समस्या सबै सकिन्छ भन्न त सकिँदैन तर दिवस मनाइने दिनमा सम्बन्धित सबैको ध्यान केन्द्रित रहने, भएका प्रयासको समीक्षा, छलफल गर्ने र नयाँ प्रतिबद्धतासहित कार्यान्वयनमा जाने अवसर पनि हो । सबैलाई घचघच्याउने दिन पनि हो । 

बालदिवस त बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने दिन पनि हो । बालबालिकाले आफ्नो अस्थित्व र महत्व महसुस गर्ने दिन पनि हो । यसर्थ यस दिवसलाई सोही अनुरुप घर घरमा, परिवार परिवारमा पुगेर मनाउन सकियो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्दछ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update