पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ बराबरको भेटी संकलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कार्तिक २७ गतेदेखि ५ दिनसम्म लागेको मेलामा उक्त रकम बराबरको भेटी संकलन भएको हो ।
मेलामा आएका दर्शनार्थीले चढाएको रकम सुनचादी गरेर ३२ लाख ८१ हजार बढी भेटि सकलन भएको सत्यवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उक्त भेटी मध्ये २० लाख बराबरको सुनचादी रहेको छ । दर्शनार्थीले भेटी, दानपत्र र रसिद काटेर नगद र जिन्सी अर्पण गरेका थिए । गतवर्ष १८ लाख ५० हजार भेटि संकलन भएको थियो । संकलित भेटी गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी चौकी दोभानका प्रहरी र मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिले आइतबार र सोमबार गणना गरेका थिए । तिनाउ गाउँपालिकाको कोलडाँडाको डाँडामा रहेको सत्यवती मन्दिरमा दर्शनका लागि र आफ्नो मनोकांक्षा पूरा होस् भनेर भन्नका लागि चिच्याएर वर माग्नु पर्ने धार्मिक विश्वासका कारण यहाँ मात्र चिच्याएर वर माग्ने प्रचलन परापुर्व कालदेखि नै चल्दै आएको हो । यस वर्ष मेलामा झण्डै ३ लाख बढी श्रद्धालुको सहभागिता रहेको थियो ।
पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनऊदेखिका दर्शनार्थीले मेला अवलोकन गरेको समितिले जनाएको छ । सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्दछन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर बर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ । त्यहाँ जाने श्रद्धालुहरु रातभर हिडेर ताल पुग्ने गर्छन् । सयौंको संख्यामा लाइन लागेर चिच्चाउँदै मेला भर्न त्यहाँ जाने गर्दछन् । त्यहाँ भाकल अनुसार पुजा गर्ने, वली चढाउने र परेवा उडाउने गर्छन् । पूर्णिमा कार्तिकमै परेकाले ‘जोग परेको’ भनिन्छ । मेलामा सत्यवती देवीको मन्दिरमा पूजा र दर्शन गर्ने गरिन्छ । नजिकै रहेको सत्यवती तालमा पाती, बाँसको लिंगो गाडेर पूजा गर्ने चलन छ । बुटवल–पाल्पा सडकखण्डको केराबारी क्षेत्रबाट पैदल २ घण्टामा मन्दिर पुग्न सकिन्छ । मन्दिरमा झुम्सा क्षेत्रबाट पनि जान सकिन्छ ।