Shittalpati
पौंदेली न्वागी पर्वको उत्साह  :  यस्तो छ परम्परा

गुल्मी, न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।

गुल्मी र बागलुङको सीमामा पर्ने पौँदी क्षेत्रमा पनि न्वागी पर्व उत्सवका रूपमा मनाउने गरिन्छ । पौंदेलीले १७ औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व यस वर्ष निकै उत्साहका साथ मनाइएको छ । यही मंसिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको थियो । हरेक वर्ष पौंदेलीहरुले न्वागीको अवसरमा साता दिनसम्म विविध कार्यक्रमको आयोजना गर्ने गर्छन् । वर्षेनी धानबाली भित्र्याएपछि मंसिरमा यो पर्व मनाइने गरिन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन रहि आएको छ । ज्योतिषले निकालेको शुभमूर्हत अनुसार न्वागी खाएपछि पर्वको सुरुआत गर्ने गरिन्छ । गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने परम्परा रहेको छ । कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको मानिन्छ । पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको पुराना पुुस्ता बताउँछन् । तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले बताए । ‘बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने) र न्वागी खाने मिति हेराइने चलन छ’, उनले भने ।

स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ । पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाने गरेका छन् । न्वागी पर्वकै अवसर पारेर बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा सोमबारदेखि परम्परागत न्वागी मेला  चलिरहेको छ । यो मेला शनिबार सकिदै छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update