Shittalpati
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा

पाल्पा, गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदालत पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का  लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

वन कार्यालयले सिद्धार्थ मिनिरल्स, विएस सिमेन्ट, कञ्चन क्वारिज, पाल्पा सिमेन्ट प्रालि र उनका सञ्चालकसहित १८ जनाविरुद्ध ६ करोड १९ लाख ८ हजार एक सय ६९ रुपैयाँ बिगो मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । यी कम्पनीले चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको भन्दै अदालतमा मुद्दा दायर भएको जिल्ला अदालत पाल्पाका तहसिलदार/सूचना अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार  वन कार्यालयले १३ चैत्र २०८० मा कञ्चन क्वारिज प्रालि, ४ पुस २०८० मा विएस सिमेन्ट प्रालि, ७ कार्तिक २०८१ मा पाल्पा सिमेन्ट प्रालि र २९ कार्तिक २०८१ मा सिद्धार्थ मिनिरल्स प्रालि विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दामा चार खानी उद्योगसहित १८ जनालाई प्रतिवादी बनाइएको छ ।

सिद्धार्थ मिनिरल्स प्रालिले तिनाउ गाउँपालिका –३, स्थित श्रीडाँडाबाट स्वीकृत पाएको भन्दा बढी वन क्षेत्र अतिक्रमण गरेको वन कार्यालयको दावी छ । कम्पनीले राष्ट्रिय वन क्षेत्र मिचेर चुनढुङ्गा उत्खनन् गरेको, सडक बनाएको र अबैध डम्पिङ् गरेको भन्दै वनले अदालतमा मुद्दा दायर गरेको हो । जसमा कम्पनी, कम्पनीका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित ५ जनाविरुद्ध ३९ लाख ६३ हजार ८ सय ५२ रुपैयाँ बिगो मागदाबीसहित अदालतमा मुद्दा दायर भएको छ । तहसिलदार पोखरेलका अनुसार पशुपति मुरारका, मनोज कुमार कानोडिया, राजेश कुमार अग्रवाल, जगदीश अग्रवाल र विनोद कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।   

यस्तै, माथागढी  गाउँपालिका–५ मा सञ्चालित विएस सिमेन्ट प्रालिले स्वीकृति पाएको भन्दा बढी उत्खनन् गरी वन क्षेत्रमा हानी नोक्सानी गरेको भन्दै मुद्दा दर्ता भएको छ । जसमा कम्पनी र ४ जना विरुद्ध ४ करोड १५  लाख ६९ हजार ७ सय ६७ रुपैयाँ बिगोसहित मुद्दा दायर भएको हो । कम्पनीका मनोज कुमार कानोडिया, सविता कानोडिया, जगदीश अग्रवाल, राजेश कुमार अग्रवाललाई प्रतिवादी बनाइएको छ ।

माथागढी–७, रहबासस्थित पाल्पा सिमेन्ट प्रालिले पनि स्वीकृति पाएको क्षेत्रभन्दा बढी उत्खनन् गरेकाले मुद्दा दायर गरिएको छ । उसले झण्डै चार हेक्टर बढी वन क्षेत्र अतिक्रमण गरी अबैध उत्खनन् गरेको पाइएको हो  । वनले कम्पनीसहित चारजनाविरुद्ध ६८ लाख २७ हजार ६ सय २२ रुपैयाँ बिगोमागसहित मुद्दा दायर गरेको  छ । जसमा कम्पनीका श्रवणकुमार अग्रवाल, राजेश कुमार अग्रवाल, विष्णुकुमार अग्रवाल र विनोद कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । यस्तै तिनाउ गाउँपालिकास्थित कञ्चन क्वारिज प्रालिले पनि अबैध उत्खनन् गरेको भन्दै बनले मुद्दा दायर गरेको हो । उसले कम्पनीसहित पाँच जनाविरुद्ध ७८ लाख ३६ हजार ९ सय २८ रुपैयाँ बिगोमागसहित मुद्दा दायर गरेको छ । जसमा कम्पनीका गोपाल प्रसाद भट्टराई, भिमबहादुर थापा क्षेत्री, रतन कुमार गोयल, आकाश कुमार अग्रवाल र महाविरप्रसाद गोयललाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएको केही व्यक्तिहरुलाई थुनछेक बहस गराई थप प्रक्रिया अगाडि बढाइएको जिल्ला अदालतका सूचना अधिकारी पोखरेलले बताए । चारैवटा कम्पनीले स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेकाले मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी बरिष्ठ वन अधिकृत खिलबहाखुर तामाङले जानकारी दिए ।

जिल्लामा खानी तथा क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा नदीखोला, धार्मिक स्थल र शैक्षिक संस्था पनि प्रभावित भएका छन् । अनियन्त्रित र अव्यवस्थित खानी सञ्चालनको असर बस्तीसम्म पुगेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update