‘विश्व टेलिभिजन दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन यो दिवस मनाउने गरिन्छ । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले विश्वभरकै सशक्त सञ्चार माध्यमका रुपमा लिइन्छ । नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले करिब चार दर्जन बढी टेलिभिजन च्यानलहरु प्रसारणमा रहेका छन् । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।
आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । श्रव्यदृष्यका साथ सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेकै कारण छोटो समयमै टेलिभिजन सबैभन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित भएको हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान छ । वर्तमान सन्दर्भमा टेलिभिजन सेटको माध्यमबाट ‘विश्व एक गाउँ’का रूपमा परिणत भएको छ । सूचना, समाचार, सार्वजनिक बहस एवं शिक्षाको अतिरिक्त मनोरञ्जनका दृष्टिकोणले टेलिभिजन जति प्रभावकारी साधन अर्को छैन । अहिले गाउँघरका कुना–कुनामा टेलिभिजनको पहुँच पुगेको छ । भू–उपग्रही, भू–सतही, स्याटलाइट तथा एचडी माध्यमबाट प्रसारण भइरहेकाले यसलाई सञ्चार क्षेत्रको विद्युतीय टेलिभिजन क्रान्ति भन्न सकिन्छ । तर पछिल्लो समय भने नेपाली टेलिभिजन पत्रकारिता चेपटामा परेको छ । खस्कदो विज्ञापन बजार र टेलिभिजन च्यानल अझै पनि संस्थागत हुन नसक्नुले टेलिभिजन समस्याको चपेटमा परेका हुन् । केही पूँजी जुटाएर टेलिभिजन खोल्ने तर त्यसको संस्थागत विकास गरेर कसरी व्यवसायिक बनाउने भन्ने योजना नभएकाले समस्या देखिएको छ । विज्ञापनको बजार बढाउने विषयमा पनि काम हुन सकेन ।
एकातिर बजारको अध्ययन नगरी च्यालनमात्रै खोल्ने होड र अर्को मिडिया उद्योगलाई राज्यले गरेको उपेक्षाका कारण टेलिभिजनको दूरावस्था आएको हो । सरकारले मिडिया उद्योगका लागि जे गर्नुपथ्र्यो त्यो गर्न नसक्नु विडम्वनाको कुरा हो । यसर्थ टेलिभिजनको संस्थागत विकास र विस्तारमा सरकार र सम्बन्धित निकायले ध्यान दिन सके मात्र हरेक वर्ष मनाइने दिवसले सार्थकता प्राप्त गर्दछ ।