Shittalpati
सामाजिक सञ्जालको सही प्रयोग गरौं

नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल अहिले व्यापक बनेका छन् । सूचना प्रविधिको नयाँ माध्यमप्रतिको यस किसिमको चासो राम्रो पक्ष हो । पहिले जस्तो अब सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने आवश्यकता छैन् । अहिले त जसले जुनसुकै बेला पनि कुनै पनि समाचारलाई विश्वभरि फैलाइदिन सक्ने भएको छ । खासगरी फेसबुक र ट्वीटरले यस किसिमका सुविधा उपलब्ध गराएपछि यो सम्भव भएको हो । यसलाई विज्ञानको वरदानका रूपमा सदुपयोग गरेमा संसारमा सकारात्मक परिवर्तन आउने छ भने दुरुपयोग गरिदिएमा क्षणभरमै अकल्पनीय दुर्घटना पनि निम्तिन सक्छ ।

डिजिटल युगको सबैभन्दा सरल र सहज माध्यम सामाजिक सञ्जाल बहुआयामिक लाभका माध्यम बनेका छन् । साथीभाइ, परिवार, आफन्तजनसँग सञ्चार सम्पर्क गर्न सामाजिक सञ्जालले अपूर्व अवसर दिएको छ । सामाजिक सञ्जाल शिक्षा र जानकारी विस्तारमा उपयोग भइरहेको छ । सूचना, मनोरञ्जन, ताजा जानकारी आदानप्रदानसँगै सिप प्रवद्र्धन, व्यापारिक लाभ आदिका निम्ति सामाजिक सञ्जाल उपयोगी छ । यसबाट धेरैले बौद्धिक तथा प्राज्ञिक लाभसमेत लिएका छन् । मानव सभ्यताको विकासव्रmममा सामाजिक सञ्जाल अनेक तवरले उपयोगी हुँदाहुँदै पनि दुरुपयोगसमेत व्यापक हुन थालेको छ ।  यो अत्यन्त दुखको कुरा हो । भ्रम फैलाउने, अपराध बढाउने, ठगी गर्नेदेखि अरूको मानमर्दन गर्नेलगायतका सञ्जाल दुरुपयोगका अनेक दुष्कार्यले सबैतिर हैरानी बढाएको छ । यस्ता दुष्कार्यले ठाउँ पाउनु दुखद् हो ।  

दुरुपयोगले सकारात्मकभन्दा नकारात्मक विचार प्रवाह हुने र त्यसले समग्र समाजलाई अनैतिक र भ्रष्ट पार्ने पक्का छ । यसको दुरुपयोग बढ्दै गयो भने ठूला –ठूला दुर्घटना पनि हुनसक्ने सम्भावना रहन्छ । पछिल्लो घटनाका रूपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई  लिन सकिन्छ । सामाजिक सञ्जाल दुरुपयोग गरी अपराध गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लागेको छ । यस्तो हुनु राम्रो होइन । सामाजिक सञ्जाल आफैँमा एउटा माध्यम मात्रै हुन्, ती आफैँमा खराब हुन् भन्न सकिँदैन । तिनलाई खराब र राम्रा बनाउने उत्पादक, प्रयोगकर्ता र नियामकले हो । सामाजिक सञ्जाल पनि सूचना सञ्चारको एउटा स्वरूप अवश्य हो तर मूलतः सामाजिक सञ्जाल नै भएकाले यसको प्रयोग समाज जोड्न हुनु पर्छ, भत्काउन र भड्काउन होइन । तसर्थ सामाजिक सञ्जाललाई सही रुपमा प्रयोग गरौं सभ्य र सुसंस्कृत समाज, राष्ट्र निर्माण गरौं  ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update