Shittalpati
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान

पाल्पा, पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद एंव पूर्व मन्त्री वीरबहादुर रानाले विभिन्न क्षेत्रबाट साइकल सम्पदा यात्रा कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेहरुलाई टोकन अफ लव हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सांसद रानाले सम्मान गर्दै जिल्लाको सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा संघमा आवद्ध युवाहरुले देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । उनले भने ‘प्रकृति, संस्कृति र सम्पदाले पाल्पा धनी भए पनि प्रचार–प्रसारको अभावका कारण ओझेलमा परेको बेला युवाहरुले देखाएको चासो अनुकरण गर्न लायक छ ।’ सांसद रानाले जिल्लामा अथाह सम्भावना भए पनि ओझेलमा परेकाले त्यसको संरक्षण र प्रचार प्रसारमा सबैले  ध्यान दिनुपर्ने बताए । उनले युवाहरुको उत्साहलाई आफुले मर्न नदिने समेत बताए ।

सांसद रानाले भने ‘यहाँहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर दिर्दै जानुहोस्, हामी तपाईहरुको उर्जालाई त्यसै मर्न दिदैनौं । ’ उनले यस्ता कार्यक्रम गर्न स्रोतको अभाव नभई  सोचको अभाव रहेकाले त्यसमा दत्तचित्त भएर लाग्न सबैलाई आग्रह गरे । कार्यक्रममा संघका सल्लाहकार सागरमान महर्जनले ‘हेरिटेज राइड’मा साइकलको यात्रा मात्र नभई जिल्लाको सम्पदा चिनाउने काम भएको बताए । पाल्पामा पहिलो पटक भएको कार्यक्रमले यहाँका सम्पदाहरुलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले हेरिटेज राइडलाई आगामी दिनमा ब्रान्डिङ गरेर जाने समेत बताए । संघका  अर्का सल्लाहकार  सुरज शाक्यले चुनौतीका बाबजुत पनि सबैको सहयोगले हेरिटेज कार्यक्रम गर्न सफल भएको बताए । उनले कार्यक्रमलाई निरन्तर दिने कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । सोही अवसरमा संघले लुम्बिनी प्रदेश खेलकूद समितिको सदस्यमा मनोनित भएकोमा राजु महर्जनलाई समेत सम्मान गरेको थियो । संघका अध्यक्ष रुपेश महर्जनको अध्यक्षता, सचिव विज्ञान बज्रचार्यको  सञ्चालनमा कार्यक्रम भएको थियो । संघले  कार्तिक २३/२४ गते ‘हेरिटेज राइड’ सञ्चालन गरेको थियो । जसमा १ सय ३० जना साइकल यात्रीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update