पाल्पा,पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८१ मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सुरु गरिएको १३ औं कर दिवस शुक्रबार समापन गरिएको हो ।
करदाता सेवा कार्यालय पाल्पाले कार्यालयमा आउने करदातालाई सत्कार तथा सम्मान, प्रचार–प्रसार, कर सचेतना सम्बन्धी अन्तक्र्रिया लगायतका साताव्यापी कार्यक्रम गरिएको जनाएको छ । करदातालाई कर तिर्नका लागि प्रोत्साहित गर्न हप्ता दिनसम्म कर सप्ताह मनाइएको करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले बताए । कर सप्ताह समापन कार्यक्रममा कर अधिकृत सुवेदीले आ.ब.२०८०/८१ को कार्य प्रगती प्रस्तुत गर्दै पाल्पामा ४२ हजार ७ सय कारदाता संख्या रहेको र ५५ करोड राजश्व संकलन गरिएको बताए ।
समापन कार्यक्रममा धेरै कर तिर्ने करदाता र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यालयले २०७९/८० मा बढी आयकर दाखिला गर्ने पाल्पाली कन्स्ट्रक्सन– तिनाउ झुम्सा, अन्धकार मुक्ति सहकारी संस्था रामपुर र तानसेन ट्रेड कन्स्ट्रक्सन तानसेन ६ (पेट्रोल पम्प)लाई सम्मान गरेको थियो । यस्तै कार्यालयका सवारी चालक सुरज लम्तरी मगरलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा नगद रु ३ हजारसहित सम्मान गरियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले देशलाई समृद्धितर्फ उन्मुख गराउन कर प्रणाली अनिवार्य रहेको बताउँदै व्यवसायीले कानून अनुसार आफ्नो व्यवसाय गर्नुपर्ने, राजश्व चुहावट नियन्त्रण गर्न सबै पक्षको सहयोग रहेको खाँचो औंल्याए । उनले व्यवसायीलाई अप्ठ्यारो नपर्ने गरी करको दायरा लागु गरी करको सही सदुपयोग गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई र पाल्पा व्यापार संघका अध्यक्ष बासुदेव बस्यालले एकातर्फ कोभिडपछि व्यवसाय घटेको र अर्कोतर्फ विभिन्न क्षेत्रमा कर तिर्नुपर्ने कारण व्यवसायीहरु मर्कामा परेको गुनासो गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारी र सम्मानित व्यक्ति बाबुराम पाण्डेले राज्यले निर्धारण गरेको कर तिर्नु सबैको दायित्व रहेको बताउँदै सरकारले समय सापेक्ष कर नीति बनाउनुपर्ने वताए ।
करदाता सेवा कार्यालका प्रमुख सन्तोष सुवेदीको अध्यक्षता, नासु देवीप्रसाद अर्यालको स्वागत, नायव सुब्वा योगमाया न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दै २०६९ देखि प्रत्येक वर्ष मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदै आइएको छ । यस वर्ष ‘कर प्रणालीको सारः लगानीको आधार’ भन्ने मूल नाराका साथ देशभर नै कर दिवस तथा कर सप्ताह मनाइएको हो ।