पाल्पा, सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा उनी पक्राउ परेका थिए । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई केही दिन अघि बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देहीबाट पक्राउ पुुर्जी जारी भएको थियो । त्यो लगत्तै लामिछानेलाई प्रहरीले बयान लिइसकेको छ । त्यहाँबाट बयान लिएसँगै काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविराज जोशी, कुमार रम्तेल, गीतेन्द्रबाबु(जिबी) राई, देवेन्द्रबाबु राई, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, भूपेन्द्र राई, नवीन अछामीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
त्यस लगत्तै लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।