Shittalpati
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।

आयोगले जिल्लास्तरमा सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया गरेको हो । पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उद्देश्ले गुल्मीमा जिल्लास्तरीय रुपमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । कार्यक्रममा सहभागीले अख्तियारसँग सम्बन्धित केही जिज्ञासासमेत राखेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले पछिल्लो समयमा अख्तियारसँग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसँग डराउन नपर्ने बताए । उनले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका काम रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update