“हे शक्तिस्वरुपा माता भगवती दुश्मनको मुकावला गर्न हामी रणभूमितर्फ प्रस्थान गर्दैछौं । रण(विजय गर्न हजुरको शक्ति र आशीर्वाद हामीलाई बक्सियोस् । कृपाले विजयश्री प्राप्त गर्न सके हजुरको यो दिव्य मूर्तिलाई एक सुन्दर मन्दिरभित्र स्थापित गरी हरेक वर्ष हजुरलाई खट्मा विराजमान गराई भव्यताका साथ फौजी जवान, निजामती कर्मचारीहरूको बैण्ड बाजा बजाई नगरपरिक्रमा गर्ने, गराउने मन, बचन कर्मले बाचा र प्रतिज्ञा गर्दछु । हे अम्बे यो दुःखी भक्तको क्रन्दन, पुकार सुनी दया गरिबक्सनुहोस् । हजूरको जय होस् ।” तत्कालिन पाल्पाका तैनाथवाला कर्णेल उजीर सिंहले पाल्पामा अवस्थित भगवती माता समक्ष गरेको यो भाकल र संकल्प अहिले सम्म पनि पाल्पाको एउटा सांस्कृतिक सम्पदा र परम्परा बनेको छ ।
यो परम्परा हरेक वर्षको भाद्र कृष्ण नवमीका दिन तानसेन बजारमा भगवतीको रथयात्रा गराइ मनाउने गरिन्छ । यो रथयात्रा राष्ट्रिय गौरव बोकेको ऐतिहासिक जात्रा पनि हो । नेपाली सेनाले अंग्रेज सेनालाई जीतगढी युद्धमा हराउन सफल भएका कारणसँग सम्वद्ध रहेकोले यो विजय उत्सव राष्ट्रिय उत्सव र पर्व पनि हो । यो विजय उत्सव राष्ट्रले नै मनाउनु पर्ने भएपनि हालसम्म न नेपालका कार्यकारी प्रधानमन्त्री न राष्ट्रपतिको रथयात्राका अवसरमा सहभागिता जनाउने चलन नदेखिएको मात्र नभै शक्तिकी देवी भगवती माताको दर्शन समेत गरिएको थिएन । यो अवस्था रहनु भनेको पाल्पाको यो महत्वपूर्ण सांस्कृतिक विराशतयुक्त सम्पदाप्रतिको उपेक्षाको रुपमा लिने गरिएको थियो । वि.स १८७६ मा निर्माण सम्पन्न भएको भगवती माताको तीनतले मन्दिर पटक–पटक विभिन्न कारणबाट भत्किएर दुईतलामा सिमित गरिएको थियो भने केही वर्षदेखि छाना चुहिएर शक्तिकी देवी भगवतीको मूर्तिमा पानी पर्दा समेत यसको छाना मर्मतमा समेत चासो नरहेको अवस्थाले धेरैको मनमा चिसो पसे पनि पहलमा भने दह्रो सक्रियता देखिएको थिएन । तत्कालिन कर्णेल उजिर सिंहले विस १८७२–७६ मा पुनः निर्माण गरेको यो ३ तले मन्दिर विस १९९० को भुकम्पका कारण क्षत विक्षत हुन गई पुनः निर्माण गरि २ तलेमा सिमित गरिएको थियो । तत्पश्चात विभिन्न समयमा पुनः निर्माण एवं मर्मत गर्दा २ तलेमै राखियो र हालसम्म २ तलामै सिमित राखिएको छ । गत वर्ष गठीत नयाँ मन्दिर व्यवस्थापन समितिले पहिलो वर्षमै राष्ट्रपतिलाई भगवति मन्दिरको दर्शन गराउने र मन्दिरको पुनः निर्माणमा सरकारी चासो बढाइ पुनः निर्माण प्रक्रिया अगाडि बढाउन पहल गरे पनि छोटो समय र राष्ट्रपतिको स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण सफल हुन सकेको थिएन । सोही वर्ष राष्ट्रपति कार्यालय विशेषगरी निजि सचिवालय र व्यवस्थापन समितिबिच आउँदो वर्ष पाल्पा जाने मौखिक समझदारी भएको थियो । यस वर्षको भदौ महिनामा सम्पन्न रथयात्रा (खट् यात्रा)मा राष्ट्रपतिको सहभागितामा बृहत र व्यापक सहभागितामा सम्पन्न भयो । यस वर्षको रथयात्रा इतिहासमै पहिलो रथयात्रा भएको सहभागिहरुले टिप्पणी गरेको सुनिन्थ्यो । यहाँ एउटा प्रश्न उठ्न सक्छ आखिर राष्ट्रपतिको आगमनको प्रभाव के देखियो र ? हो यो महत्वपूर्ण प्रश्न र जिज्ञासा स्वभाविक पनि हो । अब एकैछिन यसबारे चर्चा गरौं । राष्ट्रपतिको आगमनका लागि पूर्व मौखिक सहमति भएपनि विभिन्न औपचारीक प्रक्रियाहरुले गर्दा नियमित सम्पर्क समन्वय मात्र होइन लामो प्रक्रियालाई छोटो र छरितो बनाउन जरुरी रहेछ । यसका लागि पाल्पाका संघीय सांसदहरु, राजनीतिक दलका प्रमुखहरु र लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्रीहरुले आफ्ना भेटमा पाल्पा आउन गरिएको निरन्तर आमन्त्रण र राष्ट्रपति कार्यालयको प्रसाशनिक संयन्त्रलाई गरेको अनुरोधले राष्ट्रपतिको आगमन सफल हुन सक्यो ।
राष्ट्रपतिको आगमनसँगै संघका पर्यटन र रक्षा मन्त्रीद्धय , लुम्बिनी प्रदेशका मुख्यमन्त्री, पर्यटन, अर्थ र स्वास्थ्य मन्त्री, नेपाली सेनाका कामु प्रधान सेनापती र पृतना पति तथा अन्य मुख्य पदाधिकारीहरु, प्रदेश सभा सदस्यहरु, पूर्व मन्त्री, सभामुख लगायतको सहभागिताले सो दिन पाल्पामा राष्ट्रको ठूलो शक्तिको जमघट भएको थियो जुन व्यवस्थापन समितिले चाहे अनुरुपको सहभागिता रहनपुग्यो । एउटा उपलव्धि यही हो भने अर्को अपलव्धि भनेको यो शक्ति एकै दिन पाल्पामा सहभागी हुनु भनेको भगवती प्रतिको आस्था र विश्वासले पनि हो । अनि अर्को उपलव्धि एउटा आस्था र शक्तिकी देवीको शक्ति र महिमा बढाउने कार्य पनि हो । र चौथो उपलव्धि भनेको अब यसको माध्यमबाट मन्दिर पुनः निर्माण र मन्दिर परिसरमा पुरानै शैली तर उपयोगीताका आधारमा नयाँ संरचनाको निर्माण गर्ने अभियानलाई सार्थक बनाउने अवसरको रुपमा लिइएको छ । व्यवस्थापन समिति अब यही पहलमा सबै सरोकारवाला निकाय, सांसद, प्रदेश सभा सदस्य, विभिन्न अंग र व्यक्तित्वहरुहरुको समन्वयात्मक परिचालनमा जुट्न जरुरी छ । व्यवस्थापन समितिले यस अगावै पुरातत्व विभाग समक्ष अनुरोध गरी मन्दिरको पुरानै ३ तलाको संरचनाको डिजाइन र स्टेमेट तयार पारी विभिन्न सरोकारवाला व्यक्ति , संस्था र निकायहरुबिच छलफल गराई तिन तले कि २ तले भन्नेमा विगत लामो समयदेखिको अन्योलतालाई हटाइ ३ तलाकै पुरानो शैलीमा पुनः निर्माणको लागि सहमति गराइ सकेको थियो । यसर्थ अब मन्दिर पुरानै शैलीमा जिर्णेाद्धार वा पुनः निर्माण गर्न जरुरी भएको र सोका लागि लाग्ने बजेट व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार समक्ष अनुरोध गरेको सन्दर्भमा प्रदेश सरकार यस प्रस्तावमा सकारात्मक देखिएको छ र निर्माणमा सहभागि हुने जनाई सकेको छ । यस कार्यमा मुख्यमन्त्रीले आफ्ना अर्थ र पर्यटन मन्त्रीसंग छलफल गरिसकेको जानकारी प्राप्त भएको छ । अब यसका लागि पाल्पाका सवै सांसदहरु, प्रदेश सभा सदस्यहरु, वर्तमान तथा पूर्व मन्त्रीहरुको चासो र सक्रियता देखाउने प्रतिवद्धता समेत आइसकेको छ । यस कार्यमा मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकारको भूमिका पनि अहंम हुने देखिन्छ । मन्दिरको निर्माण कार्यमा प्रदेशको संलग्नता प्रमाणित भएपश्चात मन्दिर परिसरको निर्माण पुनःनिर्माणमा संघीय सरकारको चासोको लागि सबैको उत्तिकै सक्रियता र चासो रहन जरुरी छ । यसका साथै रथयात्राको दिनलाई राष्ट्रिय क्यालेण्डरमा उल्लेख गर्न सघीय पर्यटन मन्त्री र सांसदहरुले प्रदर्शन गरेको चासो र सक्रियतालाई अगाडि बढाउने कार्यभार पनि रहेको छ ।
ठूलो महिमा र आस्थाको रुपमा रहेकी देवी भगवतीको मन्दिरमा दर्शन गर्न आउने दर्शालुभक्तजनहरुको गुनासोमा रहेको भक्तजनहरुले अर्पण गरेको भेटी र गरगहनाहरुको अभिलेखीकरण नहुने अपारदर्शी क्रियाकलापलाई पारदर्शी बनाउनु पर्ने महत्वपूर्ण कार्यभार समिति समक्ष रहेको छ भने मन्दिरका नाममा रहेका चल अचल सम्पती , गरगहनाको संख्या, वजन, गुणस्तर र शुद्धताको जाँच र मापन गरी अद्यावधिक गर्ने कार्य अति आवश्यक छ । यस कार्यले पनि आस्था र विश्वास प्रति प्रभाव पार्दो रहेछ भन्ने उदारणहरु प्रशस्त देख्न पाइन्छ । यसका लागि समितिले आफ्नो कार्यभारमा राखेको छ भने विभिन्न स्थानमा रहेका गुठी जग्गाको अद्यावधिक गर्ने कार्य पनि अगाडि बढेको छ । पाल्पा भगवतीको रथयात्रा विशेष प्रक्रिया र पद्धतीबाट गरिने हुनाले यस प्रक्रिया समेतको अभिलेखीकरण गर्ने कार्य प्रारम्भ भइसकेको छ । पुजारीहरुको व्यवस्थापन, विहानदेखी बेलुकासम्म मन्दिर खुल्ला रहने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसैगरी व्यवस्थापन समितिले गर्नुपर्ने अर्को महत्वपूर्ण दायित्व मन्दिर व्यवस्थापन समिति गठन गर्दा सहभागी हुने व्यक्ति र संस्थाहरुको निर्कोल गरी न्यूनतम को कसको सहभागिता अनिवार्य हुनुपर्ने हो भन्ने स्पष्ट पार्ने कार्य पनि हो । त्यति मात्र होइन गर्भगृहमा राखिएको भगवतीको पुरानो मूर्तिको दर्शनाथीहरुले दर्शन गर्न पाउने व्यवस्था पनि मिलाउन सके आस्थामा झनै बढोत्तरी हुने देखिन्छ । यसका बारेमा पनि ध्यान दिन जरुरी देखिन्छ । उल्लेखित कार्यहरु सम्पन्न गर्न व्यवस्थापन समितिले सबै पक्षहरुसँगको सम्पर्क समन्वयमा जोड दिन आवश्यक छ । मन्दिर आफैमा पुरातात्विक हो भने रथ यात्रा अर्को एउटा साँस्कृतिक विरासतको रुपमा रहेको सम्पदा पनि हो । यो विरासतयुक्त संस्कृतिलाई सम्पदासूचिमा अभिलेखीकरणको सम्भावनाको वजन पनि हेर्नु पर्ने देखिन्छ । यस कार्यमा स्थानीय सरकार नगरपालिकाले कदम चाल्न सक्छ । त्यति मात्र होइन कम्तीमा स्थानीय पाठ्यक्रममा भगवतिको शक्ति, महिमा र रथायात्राको ऐतिहासिक र सांस्कृतिक मूल्य र मान्यता बोकेको सम्पदाको बारेमा समावेश गर्न नगरपालिकासँग सहकार्य गर्न जरुरी देखिन्छ । मन्दिर र आस्था सबैको हो, यस मार्फत पाल्पामा आन्तरिक पर्यटक बढाउन सकिने र यसको प्रभाव प्रत्यक्ष प्रभाव बजारमा पर्ने हुनाले आपसी सहकार्य र सहभागिता जरुरी रहन्छ । सबैको सहयोग र सक्रियताले उल्लेखित सबै कार्यहरु समयमै सम्पन्न गर्न सकिने हुन्छ । (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)