Shittalpati
गुल्मीमा एउटै गाउँबाट चार करोडको सुन्तला निर्यात

तम्घास, गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् ।

बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिने छन् । गतवर्ष उनले २६ टन सुन्तलाबाट १३ लाख आम्दानी गरेका थिए । गतवर्ष  खनालले साना–ठूला गरी सबै दाना बगैचाबाट नै प्रतिकेजी ५० मा बिक्री गरे । यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले गत वर्षभन्दा बढी आम्दानी हुने उनी बताउन्छ । यस वर्ष पनि खनाल सुन्तला बिक्री गर्ने तयारीमा छन् । पेसाले शिक्षक खनालले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गरेका छन् । गतवर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उनले सिँचाइको लागि पोखरीसमेत निर्माण गरे । ‘सानैदेखि व्यावसायिक बन्ने सोच थियो ।’ खनालले भने, ‘दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउँछु ।’ उनको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक वार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला किसान हुन् । उनले यस वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाए । केही वर्ष पहिले आठ सय बिरुवा लगाएका थिए । उनको पनि पुख्र्यौली पेसा सुन्तला खेती भएकोले अहिले तीन सय ५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका उनले सुन्तला रेखदेखको लागि एकजनालाई रोजगारी समेत दिएका छन् । सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उनले बताए । ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्वीन्टल सुन्तला उत्पादन हुन्छ ।’ उनले भने, ‘यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।’ यसमा खर्च २० लाख कटाउँदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताए । राजनीति गरेर मात्रै जीवन नचल्ने भएकोले आफूले पुख्र्यौली पेसालाई व्यावसायिकरण गरेको उनको भनाई छ । ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शड्ढा गर्छन्’ उनले भने, ‘कृषिसँगै जनसेवा गर्ने चाहाना छ ।’

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तलाखेती गर्दै आएका केशव अहिले थप व्यावसायिक बनेका छन् । गत वर्ष मात्रै उनले ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गरेका थिए । गतवर्ष उनको बगैँचाबाट प्रति केजी  ५५मा सुन्तला बिक्री भएको थियो । अहिले पनि उनको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिने छन् । खनालले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाएका छन् । निकट भविष्यमा उनीसँग भएका सबै बिरुवा फल्दा डेढ सय क्वीन्टलभन्दा बढी सुन्तला फल्छन् । यसबाट उनको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउछौँ’उनले भने, ‘बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।’ 

चार करोडको सुन्तला निर्यात
पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कूल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ । उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको लागि व्यापारी बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताए । ‘सुन्तलाको बजारीकरणको लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भने, ‘पिपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।’ गतवर्ष मात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष खड्काले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update