Shittalpati
किसानलाई धान  भित्र्याउने चटारो

पाल्पा, असारमा ‘मानो’ खाएर रोपाइँ गरेको धान अहिले पाकी सकेको छ । त्यसैले देशभरका किसान खेतबारीमा पाकेको धान काट्न र भित्र्याउन व्यस्त छन् ।

पाल्पा र गुल्मीका खेतमा यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । पाल्पाका किसान चाडपर्व सकेर अहिले खेतमा धान काट्न व्यस्त छन् । तानसेन माडीफाँटकी तारा थापा तिहारपछि काटेको धान थ्रेसर लगाएर भित्र्याउन व्यस्त  देखिन्छिन् । उनले लगाएको धान यसपटक मनग्य फलेकोमा खुसी छन् । ‘विगतका वर्षहरूमा भन्दा यस वर्ष समयमै र पर्याप्त पानी पर्दा पोहोर–परारभन्दा बढी धान फलेको छ,’ थापाले भनिन् । उनी जस्तै पाल्पाका किसानहरु यतिबेला खेतमा धान काट्दै गरेको, झाट्दै गरेको एवं धान उठाउदैँ गरेको अवस्थामा भेटिन्छन् । पाल्पाको माडी फाँट, रामपुर फाँट, अर्गली फँट, कचँल फाँट, पुर्वखोला फाँट, छेर्लु· फाँट, हुर्गी, गेझाँ, सर्देवा फाँटका किसानहरुलाई धान स्याहार्न भ्याईनभ्याई छ । कतिपयले भने तिहारअघि नै धान थन्क्याइसकेका छन् । कृषिमा यान्त्रिकरणको कारण चार पाँच दिन लाग्ने काम, दुईचार घण्टामै सकिने गरेको छ । कृषि उत्पादन लागत कम पर्ने, खेतालाहरु कम लाग्ने, छिटो छरितो काम हुने भएपछि पाल्पाका ठूला–ठूला फाँटमा खेतबारी खनजोत गर्ने, धान रोप्ने, धान चुट्नेजस्ता मेसिनहरुको प्रयोग बढ्दै गएको छ ।

थेसरको कारण तीन चार दिन लाग्ने काम एक दुई घण्टामै हुने गरेको माडी फाँटका कृषक मिन बहादुर चौहानले बताए । पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुदैँ आएकोमा ७ हजार ८ सय २८ हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । गत बर्ष पाल्पामा ३३ हजार ६ सय ३० मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष उत्पादन बढ्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

यस्तै गुल्मीका फाँटहरुमा पनि किसान धान स्याहार्न व्यस्त देखिन्छन् । इस्मा गाउँपालिका –२ रातडाडाँकी सीता रायमाझीले केही दिनदेखि आफुहरु धान काट्न र भित्र्याउन व्यस्त रहेको बताइन् । ‘खेतभरी धान पहेलो भएको छ । खेतला हालेर त्यही धान काट्न लागेका छौं’ रायमाझीले भनिन् । जिल्लाको इस्मा गाउँपाकिाको सेरा, चौरासी, मालिका गाउँपालिकाको किसानटारी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर लगायतका मुख्य फाँटहरुमा किसान धान स्याहार्नमा व्यस्त छन् । जिल्लामा चैते धान ३ सय ५० हेक्टरमा र बर्षे धान आठ हजार ८ सय ३ हेक्टरमा गरि जम्मा नौ हजार १ सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update