पाल्पा, देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ भने दुई जनाको मृत अवस्थामा शव फेला परेको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ बहादुरगंज चोकस्थित सडक छेउमा एक जनाको शव फेला परेको छ । बुद्धभुमी नगरपालिका–१० का ७३ वर्षीय विपस मल्लाहको मृत अवस्थामा शव फेला परेको हो । यस्तै धनुषाको कमला नगरपालिका–२ र जनकनन्दनी गाउँपालिका–४ को सिमानास्थित आमा खोलाको किनार छेउमा अर्को एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १९ वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । क.प्र.०२–००२ प ३२५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने २६ वर्षीय उपेन्द्र शाहीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सर्लाहीको बागमती नगरपालिका–११ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र.०२–०४५ प ३०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–११ स्कुल टोल बस्ने ५५ वर्षीय शिव थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सिन्धुलीको कमलामाई नगरपालिका–९ ईनारपानीस्थित सडकमा मोटरसाइकल दुुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । ना.४७ प ६४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरी बर्दीबास नगरपालिका–२ हंकङडाँडा बस्ने २५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उल्लेखित घटनाका वियषमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।