पोखरा, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले फेरी म्याद थप गरेको छ । लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदालतले प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि जिल्ला अदालत कास्कीले उनीमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आइतबार बिहान उनलाई अदालत उपस्थित गराइएको थियो । न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की पुर्याइएको थियो । उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो ।
उनलाई म्याद थप भएसँगै काठमाडौं लैजाने तयारी भएको छ । सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेमाथि चितवन र काठमाडौंमा समेत उजुरी परेको छ । सोही आरोपमा छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ । सहरकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन् ।