आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्टूसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । तर वर्षौंदेखि यो अभियान सञ्चालन भए तापनि हिंसा भने ज्यूँका त्यूँ नै छ । महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली(व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्याउने कार्य हिंसा हो । हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ । यस्ता हिंसामा महिला बढी पीडित छन् । उनीहरुले समाजमा प्राचीनकालदेखि नै विभिन्न हिंसाको सामाना गर्नुपरेको छ । संस्कृति र परम्पराका नाममा युगौँदेखि महिलाहरू नै पीडित हुँदै आएका छन् । आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्र भई जीवन बाँच्न पाउनु महिलाको नैसर्गिक अधिकार हो ।
हिंसा कसैउपर पनि हुनु व्यक्तिको मानव अधिकारको हनन् हो । प्रत्येक व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो । तर यस तर्फ सरकारले ध्यान नै दिएको छैन । महिला हिंसा अन्त्यका लागि घर र महिलाबाटै अभियान सुरु गर्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र केही हदसम्म भए पनि महिलाप्रतिको हिंसा अन्त्य गर्न सक्छौं । तर त्यसतर्फ कोही पनि लागेको पाइदैन । वर्षको एक पटक सामन्य रुपमा महिलामाथि हुने हिंसाविरुद्ध दिवस मनाउने गरिन्छ तर त्यो औपचारिकतामा मात्र सिमिति बन्न पुगेको छ । वास्तविक हिंसामा परेका महिलाहरुलाई यो दिवसले छुन सकेको छ । हिंसामा परेका महिलाहरु यो दिवसप्रति बेखबर छन् । साच्चिकै महिला हिंसाविरुद्धको दिवस हो भने वास्तविक हिंसामा परेका महिलाहरुलाई अभियानमा समेटिनुपर्छ । यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।