पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पशचिम, दाङ, बर्दिया, चितवन, बारा, मोरङ, सप्तरी र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौं जनाको ज्यान गएको हो ।
नवलपरासी पशचिमको सुनवल नगरपालिका–४ अलकत्रे डाडास्थित सडकमा मोटरसाइकल दुुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । लु.३६ प९५५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक रूपन्देही देबदह नगरपालिका–४ पिप्रैया बस्ने ५१ वर्षीय गणेश प्रसाद भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित सडकमा पनि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रा.७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सल्यान बाघचौर नगरपालिका–३ बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उता बर्दियाको राजापुर नगरपालिका–८ धोबिनपुरस्थित सडकमा गाडीको ठक्करबाट मोटरसाइल चालकको मृत्यु भएको छ । लु.२ ख ५९१९ नम्बरको फोर्स गाडीले भे.४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजापुर नगरपालिका–८ भोगपुर बस्ने ५४ वर्षीय चेतुवा थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोस्थित सडकमा ट्रक दुुर्घटनामा दुुई जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको एलाईभ अस्पताल भरतपुर र १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीस्थित सडकमा हाइसको ठक्करबाट साइकलयात्रीको मृत्युु भएको छ । बा.प्र.०८–००१ च ०४७ नम्बरको हाईस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–४ बस्ने ४४ वर्षीय चन्द्र कुमार राईको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र.१–०२–००२ ख ०४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४२ वर्षीय कृष्ण बहादुर रूम्बाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल सिमरा हुँदै बयोदा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको रूपनी गाउँपालिका–४ छप्कीस्थित सडकमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । प्र.२–०१–००१ त १०८६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–३ कटैया बस्ने २५ वर्षीय शंकर राउतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा मिहोरिया चोकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश–१–०४–००१ च १३८६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया कमलादेवी चौधरीको सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उक्त कार सोही ठाउँस्थित रूखमा ठक्कर खाई अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । उल्लेखित सबै दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।