Shittalpati
उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा

पाल्पा, आज उत्पत्तिका एकादशी । मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।

पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको जवाफमा श्रीकृष्णले भने– सत्य युगमा मुर नामक भयंकर दानवले देवराज इन्द्रलाई पराजित गरेर स्वर्गमाथि आधिपत्य जमायो । तब सबै देवता महादेवको शरणमा पुगे र सम्पूर्ण बेलिबिस्तार सुनाए । देवताहरूको पुकार सुनेपछि महादेव देवगणलाई साथै लिई क्षीरसागर पुगे । त्यहाँ शेषनागको शैय्यामा योग–निद्रामा लीन भएका भगवान् विष्णुलाई देखेर देवराज इन्द्रले स्तुति गरी विष्णुलाई जगाए । देवताको अनुरोधमा विष्णुले मुर दैत्य उपर आक्रमण गरे । असंख्य असुरहरुको संहार गरेर नारायण बदरिकाश्राम पुगे । त्यहाँ भगवान् बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन भए । दैत्य मुर पनि विष्णुलाई मार्ने उद्देश्यले गुफामा पस्यो । मुर प्रवेश गर्नासाथ विष्णुको शरीरबाट दिव्य अस्त्र–शस्त्रले युक्त एक अति रूपवती कन्या उत्पन्न भइन् । ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन् ।

नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित विष्णुले सोध्दा, ती कन्याले आफूले दैत्यको वध गरेको बताइन् । कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भई विष्णुले एकादशी नामक ती कन्यालाई मनोवाञ्छित वरदान दिई उनलाई आफ्नो प्रिय तिथि घोषित गरिदिए । विष्णुको अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । श्रीकृष्णले भने– हे युधिष्ठिर जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ ।  त्यसैले एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन । एकादशी–माहात्म्य सुन्नाले मात्र पनि सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update