पाल्पा, नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै करिब १६ हजारले घटेको हो ।
नेपाली बजारमा निरन्तर किर्तिमान बनाउँदै आएको सुनको भाउ एकै दिन १५ हजार ९ सय रुपैयाँले ह्वात्तै घटेको छ । मूल्य घटेसँगै प्रतितोला १ लाख ५१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा १ सय १५ रूपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भयो ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य पनि घटेको हो । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाइएको स्रोतले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको हो । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ । नेपालमा भन्सार दर घट्दा सुनको मूल्य घटे पनि अन्तर्राष्ट्रिय बजारमा भने मूल्य फेरि बढ्न थालेको छ । रुस अनि युक्रेन र इजरायल अनि हमासबीचको युद्ध चर्किन थालेपछि ओरालो लाग्न थालेको सुनको भाउ फेरि बढ्न थालेको हो । साताअघि युक्रेनले रुसमाथि मिसाइस प्रहार गरेपछि सुनको भाउ बढेको छ । सुरक्षित लगानी खोज्न व्यवसायीहरूले सुनमा लगानी बढाएपछि मूल्य उकालो लागेको बताइन्छ ।